काठमाडौं। प्रस्तावित ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली अर्धजलासय जलविद्युत आयोजना बनाउन एलिभेट इनर्जी प्रालिले विद्युत विकास विभागमा निवेदन दिएको छ।
विभागले पनि एलिभटलाई आयोजनाबाट विद्युत उत्पादन इजाजत (लाइसेन्स) दिन प्रक्रिया अघि बढाएको छ। आगामी ३५ दिनपछि एलिभेटले विभागबाट लाइसेन्स प्राप्त गर्नेछ।
अध्ययनअनुसार आयोजना बनाउन ५५ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। प्रतिमेगावाट लागत १८ करोड रुपैयाँ रहेको कम्पनीले गरेको अध्ययनले देखाएको छ।
अर्धजलासय आयोजना भए पनि लागतको हिसावले सस्तो देखिएको छ। आयोजनाको प्रतिफल औसत १५.२४ प्रतिशत रहेको छ। आयोजना बनाउन ३० प्रतिशत स्वपुँजी(इक्विटी) र ७० प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ।
आयोजनाबाट वार्षिक एक अर्ब ६२ करोड ९२ लाख ५० हजार युनिट विद्युत ऊर्जा उत्पादन हुने एलिभेटले गरेको अध्ययनले देखाएको छ। सुक्खा पिक ऊर्जा २० करोड ९३ लाख युनिट र एक अर्ब १४ करोड युनिट वर्खामा उत्पादन हुनेछ।
कूल उत्पादनको वर्खाको हिस्सा ७० र सुक्खायामको ३० प्रतिशत मात्र रहेको एलिभेटले गरेको संभाव्यता अध्ययनले देखाएको छ। काम सुर गरेको सात वर्षमा आयोजनबाट बिजुली उत्पादन हुने एलिभेटले जनाएको छ।
आयोजना आगामी सन् २०३३ अगस्ट (२०८० भदौ) सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ। आयोजनाको डिजाइ वहाव प्रतिसेकेन्ड ९०.२ घनमिटर रहने भएको छ।
आयोजनाको पानी खसाल्ने (ग्रस हेड) ४२० मिटर अग्लो हुने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृत गरिसकेको छ।
विद्युत उत्पादन लाइसेन्स पाएपछि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता –पीपीए) हुनेछ। सुक्खायाममा पनि आयोजना चार घण्टा पूर्ण क्षमतामा चल्ने गरी डिजाइन गरिएको छ।
आयोजनाको बाँध ६३ मिटर लामो र उचाइ २७ मिटर अग्लो हुनेछ। मुल सुरुङको लम्बाइ १६ किलोमिटर रहेको छ। विद्युतगृहमा ८४ मेगावाट क्षमताका चारवटा भर्टिकल एक्सेस पेल्र्टन टवाईनहरु जडान हुने भएको छ।
आयोजनाबाट उत्पादन हुने बिजुली ५५ किलोमिटर लामो २२० केभी प्रसारण लाइनबाट फुकोट हवको सबस्टेशनमा जोडिने भएको छ।
बाँधदेखि विद्युतगृहसम्म १२ किलोमिटर नदी खण्डमा जल प्रवाह घट्ने भएकाले मुगुको कार्मारोङ गाउँपालिका ५, ६, ७, ८ र ९ तथा छायाँनाथ रारा नगरपालिका ९ र १२ प्रभावित हुनेछन्। योजनाका मुख्य भौतिक संरचनानदीको बाँया किनारामा राख्ने प्रस्ताव गरिएको छ।
नदीको पानी प्रति दिन चार घण्टा थुनेर ९०२ घनमिटर सेकेन्ड पानी उपयोग गर्ने गरी निर्माण हुने २७ मिटर अग्लो बाँधका कारण सिर्जना हुने साढे दुई किलोमिटर लामो जलाशय बन्ने भएको छ।
आयोजना निर्माणका लागि ३७.८७ हेक्टर सरकारी र १५.१९ हेक्टर निजी जग्गा आवश्यक पर्नेछ।
