काठमाडौँ: मुलुकको अर्थतन्त्रले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३.५१ प्रतिशतको औसत वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले अर्थतन्त्रका १८ मध्ये १६ वटा क्षेत्रमा सकारात्मक वृद्धि देखाए पनि मुख्य खम्बा मानिने औद्योगिक उत्पादन र सार्वजनिक प्रशासनमा भने गिरावट आएको छ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाशमा मुलुकको आर्थिक वृद्धि ३.५१ प्रतिशत मात्र हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको तेस्रो त्रैमाशिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनमा चालू आर्थिक वर्षमा ३.५१ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरेको हो। गत वर्षको तेस्रो त्रैमाशमा आर्थिक वृद्धि ४.०५ प्रतिशत थियो।

विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम संकलन, व्यापार सेवालगायतका क्रियाकलापमा भएको वृद्धि मुख्य कारण रहेको कार्यालयले जानकारी दिएको छ।
समग्रमा यस त्रैमासमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक वर्गिकरण मध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक अन्य औद्योगिक वर्गिकरणमा धनात्मक वृद्धिदर रहेको अनुमान गरिएको छ।
यद्यपि, गत आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिकको तुलनामा आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकमा निर्माण सामाग्रीको आयात, धान बालीको उत्पादन तथा केही वस्तुहरूको घरेलु उत्पादनमा भएको गिरावटका कारण यस त्रैमासिकको वृद्धिदर सामान्य अवस्थामा रहेको देखिन्छ।
मौसमी प्रभाव समायोजित तथ्यांकका आधारमा त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकको तुलनामा सोही आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ०.५८ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान छ।
आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक र अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका प्रस्तुत गरिएका १८ ओटा औद्योगिक वर्गिकरणहरू मध्ये १६ वटाको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको प्रारम्भिक अनुमान छ।
जसमध्ये विद्युत तथा ग्यास सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर २४.८८ प्रतिशत रहेको छ भने यस औद्योगिक वर्गिकरणलाई पछ्याउँदै वित्तीय तथा बिमासम्वन्धी क्रियाकलाप, यातायात तथा भण्डारण र थोक तथा खुद्रा व्यापारमा क्रमशः १०.२७, ७.८३ र ५.२५ प्रतिशत वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ।
अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत हुने प्रारम्भिक अनुमान छ। धान बालीको उत्पादनमा कमी आएको भए पनि पशुपन्छी, तरकारीबाली तथा फलफुल र वनपैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ।
त्यसैगरी, अर्थतन्त्रको दोस्रो ठुलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ५.२५ प्रतिशत भएको अनुमान छ। व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिका कारणले यस क्षेत्रको वृद्धि हुन गएको देखिन्छ।
अर्कोतर्फ, सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादनको क्रमशः १.५९ र ०.५४ प्रतिशत ऋणात्मक वृद्धि भएको प्रारम्भिक अनुमान गरिएको छ।अन्य औद्योगिक वर्गिकरणहरूको वृद्धि सामान्य रहेको प्रारम्भिक अनुमान गरिएको कार्यालयले जनाएको छ।
नेपालको आर्थिक वृद्धिदर तुलनात्मक रूपमा आर्थिक बर्ष २०७८/०७९ को चौथो त्रैमासिकमा सबैभन्दा धेरै र २०७९/८० को दोस्रो त्रैमासिक सबैभन्दा थोरै देखिन्छ भने अन्य वर्षहरूमा सामान्य घटबढ भएको देखिन्छ।
