काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम (तरलता) हुँदा पनि कर्जाको माग नबढेको जनाएको छ। आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले आन्तरिक बजारमा माग कमजोर भएकाले कर्जा विस्तार अपेक्षाअनुसार हुन नसकेको उल्लेख गरेको हो।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता भएकाले निक्षेप र कर्जाको ब्याजदर निरन्तर घटिरहेको छ। सामान्यतया ब्याजदर घट्दा व्यवसाय र लगानी बढ्नुपर्ने भए पनि बजारमा व्यापार–व्यवसाय सुस्त रहेकाले नयाँ कर्जा लिन निजी क्षेत्र उत्साहित देखिएको छैन।
प्रतिवेदनअनुसार २०८३ वैशाख मसान्तसम्म विस्तृत मुद्राप्रदाय (एम–२) १५.२ प्रतिशतले बढेको छ। जसले बजारमा पर्याप्त पैसा रहेको देखाउँछ। तर, निजी क्षेत्रतर्फ गएको कर्जा भने ५.७ प्रतिशत मात्रै बढेको छ। यसले बैंकसँग पैसा भए पनि कर्जा लिनेको संख्या अपेक्षाअनुसार नबढेको देखाएको छ।
राष्ट्र बैंकले निष्क्रिय कर्जा (एनपीएल) केही बढेको जनाएको छ। आर्थिक गतिविधि सुस्त हुँदा कतिपय ऋणीले समयमै ऋण तिर्न नसक्दा खराब कर्जा बढेको हो। यद्यपि, बैंकहरूको पुँजीकोष र तरल सम्पत्तिको अवस्था भने नियामकीय मापदण्डभित्र रहेकाले वित्तीय प्रणाली सुरक्षित रहेको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकका अनुसार बजारमा माग कमजोर हुनु, लगानीकर्ताको आत्मविश्वास नबढ्नु र आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्नु कर्जा विस्तारको मुख्य चुनौती बनेको छ। निर्माण क्षेत्रको सुस्तता, घरजग्गा र सेयर बजारको अनिश्चितता तथा उपभोक्ताको क्रयशक्ति कमजोर हुँदा नयाँ लगानी र कर्जाको माग प्रभावित भएको विश्लेषण गरिएको छ।
राष्ट्र बैंकले अब ब्याजदर घटाउनु मात्र पर्याप्त नहुने भन्दै बजारमा आर्थिक गतिविधि बढाउने, निजी क्षेत्रको आत्मविश्वास बढाउने र लगानीमैत्री वातावरण सिर्जना गर्न आवश्यक रहेको औंल्याएको छ।


