काठमाडौँ: रौतहटको गढीमाई नगरपालिकामा नदीजन्य पदार्थको ठेक्कामा व्यापक अनियमितता र राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख (मेयर) सहित चार जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।
गढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा समनपुरघाटको बालुवा, गिट्टी र ग्राभेलको आन्तरिक आय ठेक्का लगाउँदा राजस्व चुहावट गरेको ठहर गर्दै अख्तियारले मंगलबार आरोपपत्र दायर गरेको हो।
नगरपालिकाले समनपुर नाकाको ठेक्काका लागि आह्वान गरेको बोलपत्रमा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रालिले ३ करोड २५ लाख रुपैयाँमा ठेक्का सकार गरेको थियो। नियमानुसार ठेक्का सम्झौताका लागि एकमुष्ट रकम बुझाउनुपर्नेमा उक्त कम्पनीले ८४ लाख ६३ हजार रुपैयाँ मात्र बुझाएको थियो।
तर, नगर प्रमुख श्याम प्रसाद यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर र राजस्व शाखा प्रमुख बालकिशोर रायको मिलेमतोमा १ करोड रुपैयाँ दाखिला भइसकेको भनी झुटो विवरण (टिप्पणी) उठाई स्वीकृत गरिएको अनुसन्धानबाट खुलेको छ। सम्झौता विपरित १० हजार घनमिटर उत्खननको अनुमति दिइएकोमा ५४ हजार घनमिटरभन्दा बढी नदीजन्य पदार्थ निकासी गर्न दिई ठेकेदारलाई ३ करोड ३२ लाख रुपैयाँभन्दा बढी अवैध लाभ गराइएको अख्तियारको दाबी छ।
अख्तियारले मेयर यादवसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरू शुभाष कुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय र भाग्यमणी कन्स्ट्रक्सनका राधेश्याम साहलाई प्रतिवादी बनाएको छ।
नगरपालिकालाई बुझाउनुपर्ने बाँकी ठेक्का रकम २ करोड १५ लाख ३७ हजार र मूल्य अभिवृद्धि करबापतको ४२ लाख २५ हजार गरी कुल २ करोड ५७ लाख ६२ हजार रुपैयाँ राजस्व हिनामिना भएको अख्तियारको जिकिर छ।


