काठमाडौँः साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि लचिलो मौद्रिक नीति ल्याउने अपेक्षासँगै यस दिन बजार सकारात्मक भएको हो। केन्द्रिय बैंकले आजै ३ः४०मा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।
मंगलबार नेप्से परिसूचक २४.५७ अंक बढेर २६५१.६८ विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ५५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५२ स्टकको ७२ हजार २२ पटकको कारोबारमा ४ अर्ब ४० करोड ७ लाख ५२ हजार रुपैयाँबराबरको ९५ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
कालंगा हाइड्रोको सेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन १० प्रतिशत केबिएल डिबेञ्चर २०९० शीर्ष स्थानमा रहेको छ। यस दिन २० करोड ७५ लाख रुपैयाँबराबरको सो डिबेञ्चर कारोबार भएको छ।


