काठमाडौँ: नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौँले पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई अदालतले दोषी ठहर गरेको छ। मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले मुख्य योजनाकार, पूर्वमन्त्री र बहालवाला कर्मचारीसहित १६ जनालाई दोषी ठहर गरेको हो।
अदालतले ठगी, लिखत किर्ते, राज्य विरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुख्य योजनाकार केशव प्रसाद दुलाल र सानु भण्डारी, पूर्व गृहमन्त्री खाँण र पूर्व ऊर्जामन्त्री रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्व गृह सचिव टेक नारायण पाण्डेलाई दोषी ठहर गरेको हो।
यस्तै यस प्रकरणमा सागर राई, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, आङटावा शेर्पा, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेल दोषी ठहर भएका छन्। उक्त प्रकरणमा पूर्वमन्त्री खाँण र भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई मुख्य कसुरदारका रूपमा नभई मतियार (सहयोगी) को रूपमा अदालतले दोषी ठहर गरेको छ। संगठित अपराध र ठगी कार्यमा उनीहरूको संलग्नता प्रत्यक्ष नदेखिए पनि पदको दुरुपयोग र सहयोग पुर्याएको अदालतको निष्कर्ष छ।
उक्त प्रकरणमा टोपबहादुर रायमाझीका छोरा र रामबहादुर थापा बादलका छोरा प्रतिक थापासहित रामशरण केसी, टंक कुमार गुरुङ, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले सफाइ पाएका छन्।
अदालतले कसुरदार ठहर गरे पनि उनीहरूलाई कति वर्ष जेल सजाय र कति जरिवाना हुने भन्ने विषयमा भने अर्को छुट्टै सुनुवाइ हुनेछ। अदालते सजाय निर्धारणका लागि असार २९ गते पेसी तोकेको छ।


