काठमाडौँ: नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारमा देखिएका समस्या समाधान र लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको जनाएको छ। बोर्डले बजार सुधारका लागि विस्तृत कार्ययोजना तयार गरी आगामी साताभित्र सार्वजनिक गर्ने पनि जानकारी दिएको छ।
बोर्डले बिहिबार सार्वजनिक गरेको विज्ञप्तिमा हाल पुँजी बजारमा देखिएका समस्या तथा लगानीकर्ताबाट प्राप्त गुनासाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै बजारलाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यका साथ आवश्यक सुधारका काम भइरहेको जनाएको छ।
बोर्डका अनुसार धितोपत्र व्यवसायी तथा अन्य सम्बन्धित संस्थालाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयनसहित बोर्डबाट जारी निर्देशनको पूर्ण पालना गर्न निर्देशन दिइएको छ। साथै सार्वजनिक निष्कासन प्रक्रिया, नियमन प्रणाली तथा धितोपत्रसम्बन्धी कानुन र नियमावलीलाई समयानुकूल बनाउने गरी पुनरावलोकनको काम पनि सुरु गरिएको बोर्डले जनाएको छ। सूचीकृत संगठित संस्थाको संस्थागत सुशासनसम्बन्धी निर्देशिकालगायत कानुनी व्यवस्थामा पनि आवश्यक सुधार गरिने उल्लेख गरिएको छ।
यस्तै, बजारमा फैलिने हल्ला, बहकाउ र अफवाहको पछि नलाग्न बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ। लगानीसम्बन्धी निर्णय गर्दा आफ्नै अध्ययन, विश्लेषण र जोखिम वहन गर्ने क्षमतालाई आधार बनाउन बोर्डको सुझाव छ।
बोर्डले लगानीकर्ताको हित संरक्षणलाई उच्च प्राथमिकतामा राखेर पुँजी बजारको विकास र सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएको छ।


