काठमाडौँः मुलुककै पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक ४२ वर्ष पूरा गरी ४३औँ वर्षमा प्रवेश गरेको छ। सरकारले सुरु गरेको उदारिकरणसँगै सन् १९८४ मा नेपाल अरब बैंकको नाममा स्थापना भएको बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई आत्मसात गर्दै आधुनिक बैंकिङ सेवा, डिजिटल रूपान्तरण र उत्पादनशील क्षेत्रमा लगानी विस्तारमार्फत नेपालको वित्तीय क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो पहिचान बनाएको छ।
खुद नाफाका आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। चालू आर्थिक वर्षको ११ महिनामा बैंकले आठ अर्ब ४९ करोड २२ लाख रुपैयाँ खुदनाफा कमाएको छ। चालू आर्थिक वर्षमा नबिलको खुदनाफा बढेर नौ अर्ब रुपैयाँ माथि पुग्ने देखिएको छ।
वार्षिकोत्सवका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले नबिलले सेयरधनीलाई प्रतिफल दिनुका साथै राज्यलाई उल्लेखनीय कर योगदान गरेको उल्लेख गर्दै अब बैंक ‘बियोन्ड द बैंकिङ’ अवधारणाअनुसार दिगो तथा डिजिटल बैंकिङलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए।
उनका अनुसार सेवा प्रवाहमा दक्षता, ग्राहकको सहजता र प्रविधिमैत्री बैंकिङलाई केन्द्रमा राख्दै आगामी दिनमा नबिललाई अझ उत्कृष्ट वित्तीय संस्थाका रूपमा विकास गरिनेछ।
आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म बैंकले पाँच खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ६४ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको कुल सम्पत्ति सात खर्ब १८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।
बैंकले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै कृषिमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड, लघु, घरेलु, साना तथा मझौला उद्यम (एसएमई) मा ४५ अर्ब ९२ करोड र पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ लगानी गरेको जनाएको छ।
यी चार क्षेत्रमा मात्रै बैंकको कुल लगानी एक खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। जसले वास्तविक अर्थतन्त्रलाई मजबुत बनाउन बैंकले उत्पादनशील क्षेत्रमा विशेष जोड दिएको देखाउँछ।
सेवा विस्तारतर्फ बैंकले देशभर २६४ शाखा, ३१५ एटीएम र १८ एक्सटेन्सन काउन्टर सञ्चालन गर्दै २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। स्थापना हुँदा दुई शाखा र १४४ कर्मचारीबाट सुरु भएको बैंकमा अहिले दुई हजार ४६४ कर्मचारी कार्यरत छन्।
डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकता दिँदै बैंकले सन् २०२२ मा सार्वजनिक गरेको ‘एनबैंक’ एपमार्फत खाता खोल्ने, भुक्तानी गर्ने तथा अन्य बैंकिङ सेवा पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउँदै आएको छ। बैंकले यसलाई नेपालकै अग्रणी ‘फाइनान्सियल सुपर एप’का रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।
नबिल बैंकले संस्थागत सुशासन र पारदर्शितामा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ। बैंकले हालसम्म आठ पटक ‘उत्कृष्ट करदाता’ तथा १० पटक ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ अवार्ड प्राप्त गरिसकेको छ।
चार दशकभन्दा लामो अनुभव, बलियो पुँजीगत आधार र प्रविधिमैत्री सेवाका आधारमा नबिलले आगामी दिनमा दिगो विकास, हरित वित्त, वित्तीय समावेशिता र उत्कृष्ट ग्राहक सेवालाई थप सुदृढ बनाउँदै नेपालको आर्थिक विकासमा अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।


