काठमाडौँ: भारतको व्यावसायिक घराना टाटा समूहले महत्वाकांक्षी गाडी व्यापारको लक्ष्य सार्वजनिक गरेको छ। आगामी पाँच वर्षमा यस समूहले गाडी व्यापार दोब्बर बढाएर एक खर्ब डलर पुर्याउने लक्ष्य लिएको छ।
आक्रामक उत्पादन तथा विस्तार, दिगो लगानी र घरेलु यात्रुवाहक सवारी साधन, व्यावसायिक सवारी साधन र जगुआर ल्याण्ड रोभर (जेएलआर) को व्यवसायमा वृद्धि गरेर उक्त लक्ष्य पुरा गर्ने समूहका अध्यक्ष एन चन्द्रशेखरनले जानकारी दिएका छन्।
उनका अनुसार लिएको लक्ष्यमा टाटा मोटर्स लिमिटेडको प्यासेन्जर भेहिकल, टाटा मोटर्स कमर्सियल भेहिकल, बेलायती लक्जरी कार युनिट जेएलआर र अटो पाट्र्स निर्माता टाटा अटोकम्प सिस्टम्स (ट्याको) समावेश छन्।
टाटा मोटर्सको वार्षिक साधारण सभामा सेयरधनीहरुको प्रश्नहरूको जवाफ दिँदै उनले आर्थिक वर्ष २०३१ सम्ममा जेएलआरले ४५ देखि ५० अर्ब डलर योगदान दिने अपेक्षा गरिएको जानकारी दिए। उनका अनुसार उक्त अवधिमा व्यावसायिक सवारी साधन व्यवसाय लगभग ४० अर्ब डलर पुग्ने छ।
चन्द्रशेखरनका अनुसार संयुक्त अटोमोटिभ व्यवसायहरूले आर्थिक वर्ष २०३१ सम्ममा पाँच अर्ब डलरभन्दा बढी नाफा दिने अपेक्षा गरिएको छ। यात्रुवाहक सवारी साधनमा टाटा मोटर्सले आर्थिक वर्ष २०३१ सम्म आफ्नो बजार हिस्सा हालको १४.२५ बाट बढाएर २० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। आगामी पाँच वर्षमा छ वटा नयाँ मोडेल र २० भन्दा बढी उत्पादन रिफ्रेसहरूले यो वृद्धिलाई सहयोग गर्ने भएका छन्।
आर्थिक वर्ष २०२६ मा टाटा मोटर्सले ५० अर्ब डलरबराबरको अटोमोटिभ व्यापारबाट आम्दानी गरेको छ। यसमा जेएलआर र टाटा मोटर्स प्यासेन्जर भेहिकलको ३८ अर्ब डलर समावेश छ।
व्यावसायिक सवारी साधन व्यवसायमा मात्र केन्द्रित टाटा मोटर्सले ९.५ अर्ब डलर आम्दानी गरेको छ। टाटा मोटर्सको २६ प्रतिशत स्वामित्वमा रहेको स्टक एक्सचेन्जमा सूची नगरिएको टाटा अटोकम्पले गत आर्थिक वर्षमा २.५ अर्ब डलर व्यापार गरेको विवरण सार्वजनिक गरेको छ।
महत्वाकांक्षी वार्षिक बिक्री १२ लाखभन्दा बढी पुर्याउने, २० प्रतिशत बजार हिस्सा र दोहोरो अंकको मार्जिन हासिल गर्ने, छ वटा नयाँ नेमप्लेटहरू र २० भन्दा बढी उत्पादन रिफ्रेसहरूको सुरुवातसँगै हाम्रो पोर्टफोलियोलाई बलियो बनाउने र हाम्रो बिक्री मात्रामा ३० प्रतिशत भन्दा बढी योगदान पुर्याउने क्षमता इभीहरूलाई बनाउने चन्द्रशेखरनले बताएका छन्।
कम्पनीले ४० देखि ४५ प्रतिशत बजार हिस्सा कायम राखेर विद्युतीय सवारी साधनमा आफ्नो नेतृत्व कायम राख्ने लक्ष्य राखेको छ। जसलाई धेरै मूल्य बिन्दुहरूमा फैलिएको फराकिलो पोर्टफोलियोले समर्थन गरेको छ।
व्यवस्थापनले आगामी सिएरा इलेक्ट्रिक एसयूभीमा टाटा मोटर्सको सबैभन्दा धेरै बिक्री हुने मोडेलहरू मध्ये एक बन्ने सम्भावना रहेको बताएको छ।
चार खर्ब भारु लगानी थप्ने
टाटा मोटर्सले आगामी पाँच वर्षमा आफ्नो घरेलु सञ्चालनमा लगभग चार खर्ब( ४० हजार करोड) भारु लगानी गर्ने योजना बनाएको छ। जबकि, जएलआरलाई यस अवधिमा लगभग २० अर्ब भारु छुट्याएको छ।
ब्याट्री उत्पादन गर्ने शाखा अग्राटसले क्यालेन्डर २०२७ मा उत्पादन सुरु गर्ने अपेक्षा गरिएको छ। समूहले ब्याट्री स्थानीयकरणलाई तीव्रता दिँदै टाटा मोटर्स र जेएलआर दुवैलाई आफ्नो पहिलो सेलहरू आपूर्ति गर्नेछ।
लागत अनुकूलन सामग्री बचत र मूल्य निर्धारण सुधारमार्फत यात्रुवाहक सवारी साधन सञ्चालन वार्षिक रूपमा लगभग तीन लाख युनिटमा नाफा नोक्सान बराबर (ब्रेक इभन) अवस्थामा पुग्ने अपेक्षा गरिएको छ।
जेएलआरका बारेमा व्यवस्थापनले तटस्थ दृष्टिकोण कायम राखेको छ। तर, यस वर्ष व्यवसाय दोहोरो अंकको मार्जिनमा फर्कने अपेक्षा गरिएको छ।
मध्यम अवधिको लक्ष्य १५ प्रतिशत छ। इलेक्ट्रिक रेन्ज रोभर र इलेक्ट्रिक जगुआर वर्षको दोस्रो आधामा लन्च हुने तालिका छ। कम्पनीले कार्यान्वयन, आपूर्ति श्रृखला अवरोध र साइबर सुरक्षालाई प्रमुख जोखिमको रूपमा पहिचान गरेको छ। जेएलआरमा २०२५ को साइबर घटनालाई सम्बोधन गरिएको पनि बताएको छ।
टाटा मोटर्सले दक्षिण अफ्रिकामा निर्यात बढाउने र बेलायत र युरोपसँगै मलेसिया र अष्ट्रेलिया जस्ता राष्ट्रमण्डल बजारहरूमा आफ्नो उपस्थितिलाई अझ मजवुत बनाउने योजना पनि बनाएको छ।
(द इकोनोमिक टाइम्सको सहयोगमा)


