रसुवा। ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ।
रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य रहेमा सोमबारबाट पुनः विद्युत् उत्पादन सुरु गरिने उहाँले जानकारी दिए।
गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको आयोजनालाई पुनः क्षति पुग्न सक्ने आशंकामा सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको प्राविधिकहरूले बताएका छन्।
रसुवागढी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव निरन्तर अनुगमन भइरहेको छ। अवस्था सुरक्षित देखिएमा आजैदेखि विद्युत् उत्पादन पुनः सञ्चालनमा ल्याइने उहाँले बताए।
भोटेकोशी नदीमा पनि पानीको बहाव बढ्न थालेपछि रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन तथा नयाँ आयातित सवारी तत्काल सुरक्षित स्थानमा सारिएको त्यहाँस्थित सुरक्षाकर्मीले जनाएका छन्। भन्सार यार्डको उत्तरी भागबाट बाढी पस्न सक्ने जोखिम रहेकाले यार्डको थप सुरक्षा र तटबन्ध निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समितिसँग चालकहरूले माग गरेका छन्।
