काठमाडौँः नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले एक वर्ष अवधिको उक्त ऋणपत्रको बोलकबोलमार्फत निष्कासन गर्ने जनाएको छ।
उक्त ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा भुक्तानी २०८४ असार ३० गते गरिनेछ। ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ।
बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँदेखि, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी, कुल आह्वान रकमसम्मका लागि बोलपत्र पेश गर्न सक्नेछन्।
ऋणपत्रको बोलकबोल ब्याजदरका आधारमा गरिनेछ। बहु–ब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था रहेको छ।
आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलमा प्रस्ताव गरिएका ब्याजदरलाई सानोदेखि ठूलो क्रमसम्म राखिनेछ। आह्वान गरिएको रकम वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्म पुग्ने बिन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गरिनेछ। सोही एकल ब्याजदरमा उक्त दर तथा सोभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलवालाहरूलाई नेपाल राष्ट्र बैंकले ऋणपत्र बिक्री गर्ने केन्द्रीय बैंकले जनाएको छ।


