काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लगानीकर्ताको कारोबार लागत घटाउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारमा लाग्ने शुल्कको पुनरावलोकन गर्ने भएको छ।
बोर्डले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पुँजी बजारलाई थप प्रतिस्पर्धी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउने लक्ष्यसहित यस्तो व्यवस्था अघि सारेको हो।
बोर्डले जारी गरेको विज्ञप्तिअनुसार धितोपत्रको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को लकइन अवधि तथा बाँडफाँट सम्बन्धी व्यवस्थासमेत पुनरावलोकन गरिनेछ।
सेबोनका अनुसार नेपालको पुँजी बजार अहिले विकासको महत्त्वपूर्ण चरणमा पुगेको छ। पछिल्ला वर्षहरूमा बजारको संस्थागत विकास, डिजिटल प्रविधिको विस्तार, लगानीकर्ताको पहुँच अभिवृद्धि तथा नियामकीय संरचनालाई सुदृढ बनाउन विभिन्न सुधारका काम भएका छन्।
यद्यपि, पुँजी बजारको आकार र गहिराइ बढाउने, वित्तीय उपकरणहरूको विविधीकरण गर्ने, संस्थागत लगानीकर्ताको भूमिका विस्तार गर्ने, कर्पोरेट ऋणपत्र बजारको विकासलाई गति दिने तथा उत्पादनमूलक क्षेत्रसँग पुँजी बजारको सम्बन्ध थप सुदृढ बनाउने आवश्यकता अझै रहेको बोर्डले जनाएको छ। यी विषयलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम समयबद्ध रूपमा कार्यान्वयन गरिने बोर्डको भनाइ छ।
त्यसैगरी, सामाजिक सञ्जालमार्फत सर्वसाधारण लगानीकर्ताबाट प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अघि संगठित संस्थाहरूले गर्ने पुँजी संकलन तथा त्यससँग सम्बन्धित गतिविधिलाई नियमन गर्ने व्यवस्था पनि बोर्डले अघि बढाउने जनाएको छ।



