काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाली पुँजी बजारको वास्तविक अवस्था झल्काउने नयाँ ‘बेन्चमार्क इन्डेक्स’ विकास गर्ने योजना अघि सारेको छ। हाल प्रयोगमा रहेको नेप्से सूचकाङ्कलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार थप वैज्ञानिक र प्रतिनिधिमूलक बनाउने उद्देश्यसहित बोर्डले यो व्यवस्था आफ्नो ‘पुँजी बजार विकास मार्गचित्र, २०८३’ मा समावेश गरेको हो।
बोर्डका अनुसार हालको नेप्से सूचकाङ्कले बजारको समग्र अवस्था देखाए पनि कारोबारयोग्य (फ्रि–फ्लोट) सेयरको वास्तविक तौललाई पर्याप्त रूपमा प्रतिबिम्बित गर्न सकेको छैन। यसलाई सुधार गर्दै बजारमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले खरिद–बिक्री गर्न सक्ने सेयरको आधारमा नयाँ बेन्चमार्क इन्डेक्स विकास गर्ने योजना बनाइएको छ।
फ्रि–फ्लोट इन्डेक्समा प्रवद्र्धक, सरकार वा लामो समयका लागि रोक्का भएका सेयरलाई गणनामा समावेश गरिँदैन। बजारमा वास्तविक रूपमा कारोबार हुन सक्ने सेयरलाई मात्रै आधार बनाइने भएकाले यस्तो सूचकाङ्कले बजारको वास्तविक उतारचढाव र लगानीकर्ताको गतिविधिलाई बढी यथार्थ रूपमा प्रतिबिम्बित गर्ने विश्वास बोर्डको छ।
धितोपत्र बोर्डले नयाँ सूचकाङ्क विकासका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग आवश्यक समन्वय गर्ने जनाएको छ। मार्गचित्रअनुसार यो सुधार बजार आधुनिकीकरणको महत्वपूर्ण कार्यक्रमअन्तर्गत कार्यान्वयन गरिनेछ।
बोर्डको निष्कर्षमा हालको सूचकाङ्कमा सीमित ठूला कम्पनीको प्रभाव बढी देखिने भएकाले बजारको वास्तविक प्रवृत्ति कहिलेकाहीँ ओझेलमा पर्ने गरेको उल्लेख छ। नयाँ बेन्चमार्क इन्डेक्स लागू भएपछि सूचकाङ्कले कारोबारयोग्य सेयरको आधारमा बजारको प्रदर्शन मापन गर्ने भएकाले यसको विश्वसनीयता र प्रतिनिधित्व क्षमता बढ्ने अपेक्षा गरिएको छ।
यस्तो सूचकाङ्क लागू भएपछि म्युचुअल फन्ड, सम्भावित एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) लगायत संस्थागत लगानीकर्तालाई आफ्नो लगानीको प्रतिफल मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय अभ्यासअनुसारको आधार उपलब्ध हुनेछ। साथै, विदेशी पोर्टफोलियो लगानीकर्तालाई पनि नेपाली पुँजी बजारको अवस्था बुझ्न सहज हुने बोर्डको अपेक्षा छ।
धितोपत्र बोर्डले आगामी १० वर्षमा नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ। नयाँ बेन्चमार्क इन्डेक्सलाई सोही लक्ष्य हासिल गर्ने प्रमुख सुधारात्मक कदममध्ये एकका रूपमा लिइएको छ। बोर्डका अनुसार यसले बजारलाई थप पारदर्शी, विश्वसनीय र आधुनिक बनाउनुका साथै लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।


