काठमाडौँ: विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई ८ वर्ष ६ महिना कैद सजाय सुनाएको छ।
विशेष अदालतका न्यायाधीशत्रय सुदर्शनदेव भट्ट, हेमन्त रावल र दिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले असार ३२ गते सजाय निर्धारणसम्बन्धी संक्षिप्त फैसला सुनाउँदै पौडेल र अर्का प्रतिवादी दीपक आनन्दलाई सजाय तोकेको हो।
अदालतले २ लाख ५० हजार अमेरिकी डलर (नेपाली रु. ३ करोड ८ लाख ५० हजार ४ सय) घुस लिनदिन मञ्जुर भएको पुष्टि हुने प्रमाण रहेको ठहर गरेको छ। यद्यपि उक्त घुस रकम बरामद नभएको वा कुनै स्थान वा बैंकमा जम्मा भएको तथ्य वस्तुनिष्ठ रूपमा स्थापित हुन नसकेको फैसलामा उल्लेख छ।
फैसलाअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सुनिल पौडेल र दीपक आनन्दलाई बिगो बराबर रु. ३ करोड ८ लाख ५० हजार ४ सय कायम गरिएको छ। साथै बिगोको आधा बराबर रु. १ करोड ५४ लाख २५ हजार २ सय जरिवाना र ८ वर्ष कैद सजाय सुनाइएको छ।
त्यसबाहेक, सुनिल पौडेल अपराध भएको समयमा राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा रहेकाले भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप ६ महिना कैद सजाय पनि हुने अदालतले आदेश दिएको छ। यससँगै उनको कुल कैद सजाय ८ वर्ष ६ महिना पुगेको छ।
अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा १७(३) बमोजिम प्रतिवादीहरूबाट रु. ६ लाख १७ हजार ८ रुपैयाँ असुल गरी पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको छ।


