काठमाडौँ: सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा पूर्वअर्थमन्त्री विष्णु पौडेल र विवादित व्यवसायीहरू दीपक भट्ट, सुलभ अग्रवाललगायत २६ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ। विशेष सरकारी वकिलको कार्यालयले पूर्वअर्थमन्त्री पौडेललाई मतियारका रूपमा भट्टलाई अवैध कारोबारमा सहयोग पुर्याइ पदको दुरुपयोग गरेको भन्दै २० करोड ९० लाखको बीगो मागदाबीसहित मुद्दा दायर गरेको छ।
तर पूर्वअर्थमन्त्री पौडेलले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन्। लाइसेन्स र नीतिगत निर्णयबारे उनले नेपाल बीमा प्राधिकरण एक स्वायत्त निकाय भएको र अर्थमन्त्रीले प्राधिकरणलाई निर्देशन दिने कानुनी व्यवस्था नभएको बताएका छन्। हिमालयन रिइन्स्योरेन्स वा अन्य लघु बीमा कम्पनीलाई लाइसेन्स दिने प्रक्रियामा आफ्नो कुनै संलग्नता नभएको भन्दै आरोप निराधार र झुठा भएको दाबी उनले गरेका छन्।
यस्तै दीपक भट्ट आफ्नो जिल्लाको निर्वाचन क्षेत्रको बासिन्दा भएकाले सामान्य चिनजान हुनु स्वभाविक भएको उनले बताएका छन्। तर उनीसँग आफ्नो कुनै व्यक्तिगत लेनदेन, व्यावसायिक साझेदारी वा आर्थिक सम्बन्ध नभएको उनले बताएका छन्।
श्री राम टोबाको उद्योगको २० प्रतिशत सेयर दीपक भट्टको कम्पनीलाई दिनु भनेर मैले सञ्चालकहरूलाई नभनेको र सुपारी आयातको सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय जिम्मेवार निकाय भएकाले मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन भएको भन्दै उनले आफूलाई जोड्नु गलत भएको बताएका छन्। उनले कुनै निश्चित व्यक्ति वा फर्मलाई लक्षित गरी निर्णय नभएको र आफ्नो व्यक्तिगत स्वार्थ नभएको उनले बयानका क्रममा बताएका छन्।
पौडेलले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकारी समक्ष दिएको बयान:
नेपाल बीमा प्राधिकरण प्रचलित कानून बमोजिम स्थापना भई सञ्चालन भएको स्वायत्त निकाय भएकाले अर्थमन्त्रीले उक्त प्राधिकरणलाई निर्देशन दिन मिल्ने कानूनी व्यवस्था छैन। म विरुद्धको उल्लेखित उजुरीको व्यहोरा सम्पूर्ण रुपमा झुठा हो। उजुरीमा कुनै पनि सत्यता छैन। मलाई लगाइएका यी आरोपहरू तथ्य र प्रमाणमा आधारित छैनन्। हिमालयन रिइन्स्योरेन्स र अन्य लघु बीमाहरूको इजाजत दिने वा नदिने भन्ने अधिकार नेपाल बीमा प्राधिकरणमा निहित रहेको विषय हो। हिमालयन रिइन्स्योरेन्स र अन्य लघु बीमाहरूलाई इजाजत दिने र एपीआई पोलिसी, ब्रोकर लाइसेन्स देखि नयाँ स्टक एक्सचेन्जसँग सम्बन्धित विषयमा मेरो कोही कसैसँग कुनै प्रकारको संलग्नता छैन।
म विरुद्ध लगाइएका सबै आरोपहरू आधारहीन र सरासर झुठा हुन्। मैले श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत सेयर दीपक भट्टको कम्पनीलाई दिनु भनी उक्त कम्पनीका सञ्चालकहरूलाई भनेको र भेट गराएको भन्ने आरोप सरासर झुठा हो। दीपक भट्ट र श्रीराम टोबाको उद्योगबीचको आपसी सम्बन्धमा मेरो कही कतै र कुनै हिसावले संलग्न छैन। उक्त उद्योगका सञ्चालकहरूसँग म उम्मेद्वार रहेको जिल्लाको निर्वाचन क्षेत्रका बासिन्दा भएकाले मसित चिनजान हुनु सामान्य कुरा हो। श्रीराम टोबाको उद्योग प्रालि को २० प्रतिशत सेयर मैले भने बमोजिम दीपक भट्टको कम्पनीलाई दिलाएको भन्ने कुरा झुठा हो। आफूलाई जानकारी नभएको वा आफू संलग्न नभएको कुनै व्यक्ति वा व्यवसायीहरू बीचको आपसी कारोबारको जिम्मा मैले लिनु पर्छ भन्ने हुन सक्दैन।
मैले म अर्थमन्त्री हुँदाका बखत पद र प्रभावको दुरुपयोग गरी उच्च मूल्यको श्रीराम टोवाको उद्योग प्रालिको सेयर न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको नियन्त्रणमा रहेको हिमालयन एसेट्लाई दिलाउने व्यवस्था मिलाएको भन्ने आरोप सरासर झुठा हो। निजले उक्त कम्पनीबाट ठूलो परिमाणको रकम दीपक भट्टको कम्पनीले लाभांश वापत प्राप्त गरेको विषयमा मलाई थाहा छैन। मैले निजलाई सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने र छल्ने समेतका समकक्षता निर्माण गर्न परिपञ्च मिलाएको छैन। उक्त कार्यमा मेरो कुनै पनि संलग्नता छैन। मेरा विरुद्ध लगाइएका आरोपहरू तथ्यहीन, आधारहीन र झुठा हुन्।
सुपारी आयातका लागि सम्बन्धित मन्त्रालयलाई सहमति दिँदा श्रीराम टोवाको प्रालि लगायत कुनै उत्पादक कम्पनी, फर्म वा व्यक्तिलाई लक्षित गरिएको छैन। मलाई श्रीराम टोवाको उद्योग प्रालि का विरुद्धमा राजस्व अनुसन्धान विभागमा उजुरी/मुद्दा रहेको जानकारी समेत थिएन। म आफुलाई जानकारी नै नभएको र कानुन विपरीतको विषयमा मैले सहजीकरण गर्ने भन्ने कुरा कल्पना बाहिरको विषय हो।
पौडेलको थप बयानः
श्रीराम टोवाको उद्योग प्रालि का सञ्चालक अध्यक्ष भनिएका रामप्रसाद ढकाल, सञ्चालक श्रवण वेरिवाल नाउँका मानिसलाई म चिन्दिनँ। चिन्नुप्रसाद शर्मा, कमलकिशोर मालपानी र टानबहादुर पाण्डेसँग चिनजान छ। निजहरू म चुनाव लड्दै आएको निर्वाचन क्षेत्रका व्यक्तिहरू हुन्। निजहरूसँग कुनै व्यक्तिगत लेनदेन, कारोबार, व्यावसायिक साझेदारी छैन। चिनजानका मानिसहरूसँग मोबाइल सम्पर्क छ।


