काठमाडौँ: सम्पत्ति शुद्धीकरणको कसुरमा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएका विवादित व्यवसायी दीपक भट्टले आफूले बैंकिङ कसुर नगरेको दाबी गरेका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतसमक्ष उनले इन्फिनिटी होल्डिङ्गसलाई कसूरबाट प्राप्त गरेको सम्पत्ति धारण गर्ने, तहगत कारोबार गर्ने, स्वामित्व लुकाउने र एकीकरण गर्ने कार्यमा आफू कुनै पनि हिसाबमा संलग्न नभएको दाबी गरेका हुन्।
कम्पनीको व्यावसायिक कारोबार गर्न कसैसँग सापटी लिएको रकम भएको उनले बताएका छन्। इन्फिनिटी होल्डिङ्गसको स्रोत नखुलेको लगानीको सम्बन्धमा आफ्नो वास्तविक कारोबार इन्फिनिटी होल्डिङ्गसको लगानी खण्डमा देखाएको रकम नै भएको दाबी उनले गरेका छन्। त्यसबारे हिसाब अहिले आफूलाई थाहा नभएको उनले बताएका छन्।
यस्तो छ भट्टको बयान:
इन्फिनिटी होल्डिङ्गसलाई कसूरबाट प्राप्त गरेको सम्पत्ति धारण गर्ने, तहगत कारोबार गर्ने, स्वामित्व लुकाउने र एकीकरण गर्ने कार्यमा म कुनै पनि हिसाबमा संलग्न छैन। इन्फिनिटी होल्डिङ्गस प्रालिको चुक्ता पूँजी बढाउन मैले बैंकिङ्ग कसुर गरेको छैन। यस सम्बन्धमा यस अघिका बयानमा समेत खुलाई लेखाइसकेको छु। कम्पनीको व्यावसायिक कारोबार गर्न कसैसँग सापटी लिएको रकम हो।
उक्त रकम निजहरुले कसरी प्राप्त गरे मलाई जानकारी हुने कुरा भएन। इन्फिनिटी होल्डिङ्गसको स्रोत नखुलेको लगानीको सम्बन्धमा मेरो वास्तविक कारोबार मैले मेरो इन्फिनिटी होल्डिङ्गसको लगानी खण्डमा देखाएको रकम नै हो। यस सम्बन्धी हिसाब अहिले मलाई थाहा छैन।
एलियण्ट इन्स्योरेन्स ब्रोकर्स मा म लगानीकर्ताको रुपमा रहेको छैन। त्यसकारणले यस कम्पनीले हिमालयन रिइन्स्योरेन्स कम्पनीसँग कारोबार गरेको सम्बन्धमा सो कम्पनीले नै जान्ने कुरा हो। मैले रकम मेरो श्रीमती आयुष्मा भट्ट नेपालको खाताबाट प्राप्त गरेको हो। उक्त रकम मेरो श्रीमतीको आमाले छोरीलाई दिएको हो।
मेरो सासु एलियण्ट इन्स्योरेन्स ब्रोकर्समा अध्यक्षको रुपमा रहे पनि सम्पूर्ण कम्पनीको कार्य प्रमुख कार्यकारी अधिकृतले गर्ने हो। यसरी लाभांशवाट प्राप्त गरेको रकम मेरो खातामा प्राप्त गर्दैमा मैले सम्पत्ति शुद्धीकरणको कसुर गरेको भन्न मिल्दैन। कसरुबाट प्राप्त गरेको सम्पत्ति धारण गर्ने, तहगत कारोबार गर्ने, स्वामित्व लुकाउने र एकीकरण गर्ने कार्यमा म कुनै पनि हिसाबमा संलग्न छैन।


