काठमाडौँ: विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री रामशरण महतको मुद्दा हाललाई मुलतवी राख्न अस्वीकार गरेको छ।
न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले महतको हकमा उनकी पत्नी रोशना महत ले निवेदन दायर गर्दै रामशरण महत फ्रन्टोटेम्पोरल डिमेन्सिया रोगबाट गम्भीर मानसिक तथा शारीरिक रूपमा अशक्त भएको, स्मरणशक्ति गुमाएको र अदालतमा उपस्थित भई बयान दिन सक्षम नरहेको दाबी गरेकी थिइन्। निवेदनसँग नेपाल मेडिकल बोर्डको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेत संलग्न गरिएको थियो।
निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२८ को उपदफा (१) र (२) बमोजिम मुद्दा मुलतवी राख्न माग गरिएको थियो।
इजलासले महतको स्वास्थ्य अवस्था प्रत्यक्ष रूपमा समेत विचार गरी कानूनबमोजिम आवश्यक आदेश दिन सकिने अवस्था रहेको उल्लेख गर्दै हालका लागि मुद्दा मुलतवी राख्न नमिल्ने आदेश गरेको हो।


