काठमाडौँ: नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अधिकारी र गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकाललाई प्रतिवादी बनाउँदै विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो।
अधिकारीले आफ्नो पद र ओहोदाको दुरुपयोग गरी विभिन्न ठेक्कापट्टाको स्वीकृति, रेखदेख र भुक्तानीमा सहजीकरण गरिदिएबापत निर्माण व्यवसायीबाट ठुलो रकम घुस लिएको दाबी गर्दै अख्तियारले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर गरेको छ।
छानबिनका क्रममा अधिकारीले गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकालबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको भनाइ छ। उक्त घुसको रकमलाई वैधानिक देखाउन अधिकारीले श्रीमतीको नाममा ललितपुर महानगरपालिका वडा नम्बर ५ मा १३ आना जग्गा (कित्ता नं. २२४) खरिद गरेको अभियोगपत्रमा दाबी गरिएको छ।
जग्गा खरिद गर्दा सरकारी लिखतमा ९१ लाख रुपैयाँ मात्र थैली रकम कायम गरी वास्तविक कारोबार लुकाइएको र बाँकी १ करोड ७१ लाख रुपैयाँ घुसबाट भुक्तानी गरिएको अख्तियारको दाबी छ।
अधिकारीविरुद्ध भ्रष्टाचारतर्फ अधिकारीले घुस लिएको १ करोड ७१ लाख रुपैयाँलाई नै बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद तथा सम्पत्ति शुद्धीकरणतर्फ अवैध रूपमा आर्जित धनलाई जग्गामा लगानी गरी ‘मनी लाउन्ड्रिङ’ गरेको पुष्टि भएकाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिंग) निवारण ऐन, २०६४ बमोजिम थप सजाय र बिगो जफतको माग गरिएको छ।
घुस दिने गायत्री निर्माण सेवाका प्रमुख ढकाललाई पनि अधिकारीकै बराबर (१ करोड ७१ लाख) बिगो कायम गरी सजायको मागदाबीसहित प्रतिवादी बनाइएको छ।


