चितवन। ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो।
नेपाल लेयर्स कुखुरापालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ। संघका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट ३० वटाको ४५० बाट ५०० रुपैयाँ पुगेको छ।
मध्यम अण्डा ४२० बाट ४७० रुपैयाँ पुगेको छ। सानो अण्डा ४१५ रुपैयाँ पुगेको छ। सबैमा प्रतिक्रेट ५० रुपैयाँ बढेको हो।
नेपाल संघका अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताए। दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको उनले बताए।
जेठको अन्तिममा एक क्रेट ३० वटा अण्डाको ५५० मा बिक्री भएकामा झरेर ४५० रुपैयाँमा आइपुगेको थियो। एक क्रेट अण्डाको लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा पर्न आउँदछ। प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उनले बताए।
मूल्य बढे पनि अझै किसानले लागत मूल्य पाउन सकेका छैनन्। अध्यक्ष पोखरेलले अब छिट्टै लागत मूल्य पाउने आशामा किसान रहेको बताए। बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको जनाउँदै उनले प्रभावित भएका किसानलाई राज्यले राहत दिनुपर्नेमा जोड दिए।


