काठमाडौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न वार्ता समिति गठन गरेका छन्।
बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। अर्थमन्त्री वाग्लेले समितिलाई आजैदेखि पीडित पक्षसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्।
समितिका सदस्यमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहने छन्। समितिको सदस्य सचिवका रूपमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई तोकिएको छ।
समितिको पहिलो बैठक केहीबेरमै अर्थ मन्त्रालयमा बस्ने तयारी छ। उक्त बैठकले आन्दोलनरत लघुवित्त पीडितसँग आजै औपचारिक वार्ता सुरु गर्ने जनाइएको छ।


