काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा निर्माण गरेको ३३/११ केभी, ६/८ एमभीए क्षमताको नयाँ सबस्टेसन बुधबार साँझदेखि सञ्चालनमा ल्याएको छ। करिब १२ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त आयोजनाअन्तर्गत १० किलोमिटर लामो ११ केभी लाइनसमेत निर्माण गरिएको छ।
नयाँ सबस्टेसन सञ्चालनमा आएसँगै खड्क नगरपालिका तथा सुरुंगा नगरपालिकाअन्तर्गत कदमाहा, लालपट्टा, कल्याणपुरलगायतका क्षेत्रमा रहेका करिब १५ हजार विद्युत् उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने प्राधिकरणले जनाएको छ। यसबाट ती क्षेत्रमा लामो समयदेखि देखिँदै आएको कम भोल्टेज, बारम्बार लाइन ट्रिप हुने तथा विद्युत् आपूर्तिमा हुने अवरोधको समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास गरिएको छ।
यस अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मधेस प्रदेशमा विद्युत् सेवाको गुणस्तर सुधारतर्फ यो महत्वपूर्ण उपलब्धि भएको बताए। उनले सरकारले विद्युत् उत्पादन बढाउने मात्र नभई उत्पादित विद्युत् प्रत्येक घरपरिवार, उद्योग र व्यवसायसम्म गुणस्तरीय तथा भरपर्दो रूपमा पुर्याउने लक्ष्यका साथ काम गरिरहेको उल्लेख गरे।
मन्त्री श्रेष्ठले प्रसारण तथा वितरण प्रणालीलाई आधुनिक, सुरक्षित र विश्वसनीय बनाउने अभियान देशभर तीव्र रूपमा अघि बढिरहेको बताउँदै नागरिकका गुनासालाई समाधानमा रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता कायम रहने स्पष्ट पारे।


