काठमाडौँः नेपालमा बीमा क्षेत्रको विस्तारले निरन्तर गति लिइरहेको देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो मासिक तथ्यांकअनुसार जेठसम्म मुलुकको जीवन बीमाको पहुँच ५१.०२ प्रतिशत पुगेको छ।
वैशाख मसान्तसम्म यो ५०.६६ प्रतिशत रहेको थियो। एक महिनामै बीमा पहुँच ०.३६ प्रतिशत बिन्दुले बढेको तथ्यांकले देखाएको छ।
बीमा पहुँचसँगै बीमा कम्पनीहरूको व्यवसाय पनि विस्तार भएको छ। जेठ मसान्तसम्म सञ्चालनमा रहेका जीवन बीमा, निर्जीवन बीमा तथा लघु बीमा कम्पनीहरूले कुल २ खर्ब २३ अर्ब २१ करोड रुपैयाँ ग्रस प्रिमियम संकलन गरेका छन्। वैशाख मसान्तसम्म यो रकम २ खर्ब १ अर्ब ३६ करोड रुपैयाँ थियो। अर्थात् एक महिनामै बीमा कम्पनीहरूको प्रिमियम संकलन २१ अर्ब ८५ करोड रुपैयाँले बढेको छ।
यस अवधिमा सबैभन्दा ठूलो योगदान जीवन बीमा व्यवसायको रहेको छ। जीवन बीमातर्फ मात्रै कूल प्रिमियम संकलन १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। वैशाखमा १ खर्ब ५९ अर्ब ९७ करोड रुपैयाँ थियो।
नयाँ बीमालेख बिक्री पनि बढ्दो क्रममा देखिएको छ। पहिलो प्रिमियमबाट प्राप्त आम्दानी ३९ अर्ब १७ करोड रुपैयाँबाट बढेर ४३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, नवीकरण प्रिमियम १ खर्ब २० अर्ब ७९ करोड रुपैयाँबाट बढेर १ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। यसले पुराना बीमितहरूले पनि आफ्नो बीमालेख नवीकरण गर्ने क्रम सन्तोषजनक रहेको देखाउछ।
जीवन बीमालेख जारी हुने संख्या पनि उल्लेख्य रूपमा बढेको छ। वैशाखमा ६६ लाख ७३ हजार जीवन बीमालेख जारी भएकोमा जेठमा यो संख्या बढेर ७१ लाख ९३ हजार पुगेको छ। लघु जीवन बीमालेखको संख्या पनि ४७ लाख ५४ हजारबाट बढेर ५० लाख ८६ हजार पुगेको छ, जसले न्यून आय भएका वर्गमा पनि बीमाप्रतिको आकर्षण बढ्दै गएको देखाउँछ।
निर्जीवन बीमा क्षेत्रले पनि सकारात्मक वृद्धि कायम राखेको छ। निर्जीवन बीमालेखको संख्या २८ लाख ३१ हजारबाट बढेर ३० लाख ९८ हजार पुगेको छ भने ग्रस प्रिमियम संकलन ४१ अर्ब ४० करोड रुपैयाँबाट बढेर ४५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। लघु निर्जीवन बीमातर्फको प्रिमियम पनि १ अर्ब ११ करोड रुपैयाँबाट बढेर १ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।
सक्रिय जीवन बीमालेखको संख्या पनि बढेको छ। जेठ मसान्तसम्म कुल सक्रिय जीवन बीमालेख १ करोड ६६ लाख ५५ हजार पुगेका छन्। तीमध्ये ६१ लाख १७ हजार परम्परागत जीवन बीमालेख, ८१ लाख २७ हजार टर्म जीवन बीमालेख र २४ लाख ११ हजार वैदेशिक रोजगारसम्बन्धी टर्म जीवन बीमालेख रहेका छन्।
बीमा क्षेत्रका जानकारहरूका अनुसार पछिल्ला वर्षहरूमा आर्थिक साक्षरतामा आएको सुधार, बीमा कम्पनीहरूको शाखा विस्तार, डिजिटल सेवाको प्रयोग र जोखिम व्यवस्थापनप्रति बढेको जनचेतनाले बीमा व्यवसाय विस्तारमा सहयोग पुगेको छ।
अहिले अधिकांश बीमा कम्पनीले अनलाइनमार्फत बीमालेख खरिद, प्रिमियम भुक्तानी तथा सेवाको सुविधा उपलब्ध गराउँदै आएका छन्, जसले दुर्गम क्षेत्रका सेवाग्राहीलाई समेत सहजता दिएको छ। सरकारले तयार पारेको वित्तीय क्षेत्र विकास रणनीतिले आगामी पाँच वर्षमा ६० प्रतिशत जनसंख्यामा बीमा पहुँच पुर्याउने लक्ष्य लिएको छ।
यद्यपि, बीमा क्षेत्रले अझै केही चुनौती सामना गरिरहेको छ। न्यून आय भएका परिवारमा बीमा गर्ने क्षमता सीमित हुनु, ग्रामीण क्षेत्रमा बीमाबारे पर्याप्त जानकारी नपुग्नु तथा दाबी भुक्तानी प्रक्रियालाई लिएर देखिने अविश्वासका कारण अझै ठूलो जनसंख्या बीमाको पहुँचबाहिर रहेको सरोकारवालाहरू बताउँछन्।
हाल नेपालमा ३७ वटा बीमा कम्पनी सञ्चालनमा छन्। तीमध्ये १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ७ वटा लघु बीमा र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्। पछिल्लो तथ्यांकले बीमा पहुँच, नयाँ बीमालेख, सक्रिय बीमितको संख्या र प्रिमियम संकलन सबै सूचकमा सुधार देखिएकाले आगामी दिनमा पनि बीमा क्षेत्रको विस्तारले निरन्तरता पाउने अपेक्षा गरिएको छ।


