काठमाडौँ: अमेरिकी डलरको भाउ निरन्तर बढ्दा नेपाली रुपैयाँ (नेरु) निरन्तर कमजोर हुँदै गएको छ। गत आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठसम्म) अमेरिकी डलरसँग नेपाली रुपैयाँ ९.८ प्रतिशत कमजोर भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३ प्रतिशत मात्र अवमूल्यन भएको थियो। गत जेठमा डलर एकको खरिद विनिमय दर १५१.८८ रुपैयाँ पुगेको छ। २०८२ असारमा उक्त विनिमय दर १३७ रुपैयाँ थियो। आजको दिनमा डलरको भाउ १५२.६४ रुपैयाँ कायम छ।
भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर बन्दा यसको असर नेपाली रुपैयाँमा परेको हो। एक डलरबराबर ९६ भारुसम्म पुगेको छ। डलरसँग भारु झण्डै १० प्रतिशत कमजोर बनेको छ।
नेपाली रुपैयाँको भारुसँग स्थिर विनिमय दर (फिक्सड पेग) छ। भारुसँग स्थिर विनियमदर कायम भएकाले सोही आधारमा मूल्य निर्धारण हुने गरेको छ। डलरसँग नेपाली रुपैयाँ बलियो वा कमजोर हुनमा नेपालको नभई भारतको अर्थतन्त्रको योगदान रहेको छ।
भारुसँगको स्थिर विनिमयदरमा पुनरावलोकन गर्नुपर्ने कुरा उठेको छ। डलर सञ्चिती कम भएपछि विदेशी लगानी तानेर बढाउन भारतीय बैंकहरूले डलरमा दिने ब्याजदर बढाएर सात प्रतिशतसम्म पुर्याएका छन्।
पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालको संयोजकत्वको उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले २०८१ चैत अन्तिममा बुझाएको प्रतिवेदनले भारुसँगको स्थिर विनिमयदरमा पुनरावलोकन गर्न सुझाएको छ।
अमेरिकाको भन्सारदर बढाएर विश्व अर्थतन्त्र खलबल्याउँदा यसको असर बेलायत, जर्मनी, जापान, चीन र अष्ट्रेलियालगायत अतिविकशित र भारतजस्ता उदीयमान मुलुकहरूमा परेको छ। डलरसँग भारुका साथै युरो र युआनलगायत विश्वका प्रमुख मुद्राहरू कमजोर बनेका छन्।
विश्वमा ८१ प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ। अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको तलमाथि हुने गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा २०८२ जेठ मसान्तमा प्रति आउन्स सुनको मूल्य ३४ सय ३५.३५ डलर रहेकोमा २०८३ जेठमा २१.८५ प्रतिशत वृद्धि भई ४१ सय ८५.९५ डलर पुगेको केन्द्रीय बैंकले जनाएको छ।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ। यतिबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउने छन्।
यस्तै, पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ। विदेशी वस्तु निर्यात गर्ने उद्योगलाई यस्तो बेला फाइदा हुन्छ। डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर सिर्जना हुन्छ।
यद्यपि, डलर महँगो हुँदा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुने गरेको छ। डलर महँगो भएपछि वस्तुको बजार भाउ बढ्छ। आयात गरिने वस्तु महँगो हुन जान्छ। यस्तै, विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागत बढ्छ र भाउ पनि बढ्छ।
अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ। डलरका कारण सरकारलाई वर्षेनी अर्बैं रुपैयाँ दायित्व थपिएको छ। आगामी दिनमा वैदेशिक ऋणको दायित्व थपिने भएकोे छ। विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ। लाभांश लैजानेलाई फाइदा हुनेछ।
विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने गरेको छ।
यता गत वर्षको तुलनामा मुलुकको कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) आकार बढ्यो। प्रतिव्यक्ति आम्दानी तीन डलर घटेको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकमा उल्लेख छ।
गत वर्ष कार्यालयले प्रतिव्यक्ति आम्दानी १५ सय १६ डलर अनुमान थियो। तर, चालू आर्थिक वर्षमा तीन डलर घटेर १५ सय १३ मा झरेको कार्यालयको तथ्यांक छ। जीडीपी बढेको अवस्थामा प्रतिव्यक्ति आम्दानी घट्नुमा डलरको मूल्यवृद्धि मुख्य कारण रहेको छ।
