काठमाडौँ: सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ। उनकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो।
सर्वोच्चले श्रेष्ठलाई भदौ १ गते बिहान १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत अदालतमा उपस्थित गराउन आदेश दिएको छ। साथै, उनलाई पक्राउ गरी अनुसन्धानका क्रममा बरामद गरिएका कागजात तथा विद्युतीय उपकरणसमेत अदालतमा पेस गर्न आदेश दिइएको छ।
आदेशमा श्रेष्ठको घरबाट बरामद भएको अनुसन्धानको फाइल तथा कार्यालयबाट बरामद गरिएका सिपियू, ल्यापटप, आइप्याड र मोबाइलसमेत अदालतमा उपस्थित गराउन भनिएको छ। सार्वजनिक विवरणअनुसार प्रहरीले श्रेष्ठको घरबाट दुईवटा ल्यापटप तथा जनआस्था साप्ताहिकको कार्यालयबाट ६ वटा सीपीयू नियन्त्रणमा लिएको थियो।