काठमाडौँः धितोपत्र बजारमा लामो समयदेखि विवादमा रहेको संस्थापक र सर्वसाधारण सेयरको छुट्टाछुट्टै ‘इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर’ (आईजीन) राख्ने विषय अब टुंगो लाग्ने संकेत देखिएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एउटै कम्पनीको एउटै प्रकृतिको सेयरलाई एउटै आईजीनमार्फत पहिचान गर्ने व्यवस्थालाई निरन्तरता दिने गरी नीतिगत तयारी अघि बढाएको छ।
यससँगै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले अघि सारेको संस्थापक र सर्वसाधारण सेयरका लागि छुट्टाछुट्टै आईजीन राख्ने प्रस्ताव कार्यान्वयनमा नआउने भएको छ।
सेबोनका अध्यक्ष डा. गोपाल भट्टका अनुसार अन्तर्राष्ट्रिय अभ्यास, धितोपत्रको पहिचानसम्बन्धी मान्यता र नेपालको बजार संरचनालाई ध्यानमा राख्दा एउटै कम्पनीको एउटै प्रकृतिको सेयरका लागि एउटै आईजीन कायम गर्नु उपयुक्त हुने देखिएको छ।
‘आईजीन भनेको धितोपत्रको अन्तर्राष्ट्रिय पहिचान हो। एउटै कम्पनीको एउटै प्रकृतिको सेयरलाई छुट्टाछुट्टै पहिचान दिँदा अन्तर्राष्ट्रिय बजारमा पनि भ्रम सिर्जना हुन सक्छ। त्यसैले हामी एकल आईजीन प्रणालीलाई नै निरन्तरता दिने पक्षमा छौँ,’ सेबोन अध्यक्ष भट्टले भने।
विवाद कहाँबाट सुरु भयो?
आईजीनलाई सरल भाषामा बुझ्दा यो कुनै कम्पनीको सेयरको अन्तर्राष्ट्रिय परिचय नम्बर हो। विश्वभर धितोपत्र पहिचान गर्न प्रयोग हुने यो कोड १२ अंकको अल्फान्युमेरिक संरचनामा हुन्छ। नेपालमा आईजीनसम्बन्धी काम सीडीएससीले गर्दै आएको छ। सीडीएससीको वेबसाइटमा समेत कम्पनीअनुसार आईजीन तथा स्क्रिपको विवरण राखिएको छ।
नेपालमा लामो समयदेखि कतिपय क्षेत्रका कम्पनीमा संस्थापक र सर्वसाधारण सेयरका लागि फरक आईजीन प्रयोग हुँदै आएको छ। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा नियामकीय हिसाबले संस्थापक र सर्वसाधारण सेयरलाई फरक समूहका रूपमा व्यवहार गरिएकाले छुट्टाछुट्टै आईजीनको अभ्यास देखिन्छ।
तर जलविद्युतलगायतका कम्पनीमा संस्थापक र सर्वसाधारण दुवै सेयर अन्ततः एउटै प्रकृतिको साधारण सेयर हुने भएकाले एकल आईजीन कि दोहोरो आईजीन? भन्ने बहस चर्किएको हो।
सीडीएससीले किन दोहोरो आईजीन प्रस्ताव गर्यो?
सीडीएससीले संस्थापक र सर्वसाधारण सेयरका लागि छुट्टाछुट्टै आईजीन राख्ने प्रस्ताव गर्नुको मुख्य कारण लक–इन अवधि व्यवस्थापन र संस्थापक सेयरको अभिलेखलाई स्पष्ट रूपमा छुट्याउनु रहेको बताउँदै आएको छ।
विशेषगरी जलविद्युत कम्पनीका संस्थापक तथा प्रवद्र्धकको सेयर निश्चित अवधिसम्म बिक्री गर्न नपाइने व्यवस्था छ। तर एउटै आईजीनमा संस्थापक र सर्वसाधारण सेयर राख्दा प्रणालीबाट कुन सेयर संस्थापकको हो र कुन सर्वसाधारणको हो भनेर छुट्याउन कठिन हुने समस्या देखिएको सीडीएससीको तर्क थियो।
सीडीएससीकी पुर्वप्रबन्ध निर्देशक (सीईओ)प्रवीन पन्दाकले यसअघि एउटै आईजीनका कारण संस्थापक सेयरको तथ्यांकमा समस्या आउने, लक–इनमा रहेको सेयरसमेत बिक्री हुने र संस्थापक सेयरको बोनस तथा हकप्रद सेयरसमेत गलत समूहमा देखिन सक्ने समस्या रहेको बताएकी थिइन्।
उनको तर्कअनुसार संस्थापक र सर्वसाधारण सेयरलाई अलग आईजीन दिइएमा प्रणालीले नै कुन सेयर लक–इनमा छ भनेर पहिचान गर्न सक्ने र लक–इन अवधिमा कारोबार रोक्न सहज हुन्छ।
सीडीएससीको प्रस्ताव आएपछि ऊर्जा उत्पादकहरूको संस्था इप्पानलगायतले यसको विरोध गरे। उनीहरूको मुख्य तर्क भनेको एउटै कम्पनीको एउटै प्रकृतिको साधारण सेयरलाई दुईवटा अन्तर्राष्ट्रिय पहिचान दिनु अन्तर्राष्ट्रिय अभ्याससँग मेल नखाने भन्ने थियो।
इप्पानले दोहोरो आईजीन कार्यान्वयन भए संस्थापक लगानीकर्ता र आम लगानीकर्तामा थप अन्योल सिर्जना हुने भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको थियो।
फेरि, लक–इन अवधि सकिएपछि संस्थापक सेयर पनि सर्वसाधारण सेयरसरह कारोबार गर्न मिल्ने भएकाले त्यसपछि दुईवटा आईजीन राखिरहनुपर्ने आवश्यकता के हो भन्ने प्रश्न पनि उठ्यो। बजार विज्ञहरूले समेत बैंक तथा बीमाबाहेक अन्य कम्पनीमा लक–इन सकिएपछि संस्थापक र सर्वसाधारण सेयरलाई एउटै व्यवहार गरिने भएकाले दुईवटा आईजीनको आवश्यकता नरहेको तर्क गरेका थिए।
विवादले सेयर नै रोकियो
आईजीन विवाद नीतिगत बहसमा मात्र सीमित रहेन। केही नयाँ सूचीकृत कम्पनीका संस्थापक सेयर अभौतिकीकरण र कारोबारमै समस्या देखिन थाल्यो।
विशेषगरी आईपीओपछि संस्थापक सेयरका लागि छुट्टै आईजीन आवश्यक पर्ने प्रक्रियाका कारण केही कम्पनीका संस्थापक लगानीकर्ताले आफ्नो सेयर डिम्याटमा पाउनसमेत ढिलाइ भएको र लक–इन अवधि सकिएपछि पनि कारोबारमा समस्या आएको गुनासा आएका थिए।
जलविद्युत क्षेत्रका कम्पनीमा ठूलो रकम संस्थापक सेयरमा रहेको हुँदा यस्तो समस्या लामो समयसम्म कायम रहँदा लगानीकर्ताको सम्पत्ति नै बन्धक हुने अवस्था सिर्जना भएको भन्दै इप्पानले आपत्ति जनाएको थियो।
अब लक–इन कसरी व्यवस्थापन गर्ने?
सेबोनको पछिल्लो सोच भने आईजीन परिवर्तन नगरी प्रणालीबाटै संस्थापक सेयरलाई ‘ट्याग’ गरेर लक–इन व्यवस्थापन गर्ने भन्ने देखिन्छ।
अर्थात्, एउटै आईजीन कायम रहन्छ। तर सीडीएससी र नेप्सेको प्रणालीमा कुन सेयर संस्थापकको हो, कति समयसम्म लक–इनमा छ र कहिलेदेखि कारोबारयोग्य हुन्छ भन्ने विवरण छुट्टै राख्न सकिने व्यवस्था गरिनेछ।
सेबोन अध्यक्ष भट्टका अनुसार संस्थापक सेयरको लक–इन ट्र्याक गर्न आईजीन नै परिवर्तन गर्न आवश्यक छैन।
‘संस्थापक सेयरको लक–इन अवधि ट्र्याक गर्न आईजीन परिवर्तन गर्नुपर्दैन। त्यसलाई सफ्टवेयर र सिस्टममार्फत नै व्यवस्थापन गर्न सकिन्छ,’ भट्टले भने।
यसले आईजीनलाई धितोपत्रको स्थायी पहिचानका रूपमा राख्ने र लक–इनलाई छुट्टै प्राविधिक व्यवस्थाबाट नियन्त्रण गर्ने बाटो खोल्छ।
नयाँ निर्णय नआउँदासम्म पुरानै व्यवस्था
सेबोनले नयाँ नीति वा निर्देशिका जारी नगरेसम्म सीडीएससीलाई हाल प्रचलनमा रहेको व्यवस्था र कानुनअनुसार काम अघि बढाउन निर्देशन दिएको छ।
यसको अर्थ आईजीन विवाद टुंगो लाग्ने प्रक्रियामा रहे पनि नयाँ व्यवस्था औपचारिक रूपमा लागू नभएसम्म सीडीएससीले आफ्नै प्रस्तावित दोहोरो आईजीन प्रणालीका आधारमा बजारका नियमित काम रोक्न नहुने सेबोनको धारणा हो।
‘नयाँ निर्देशिका वा नीतिगत व्यवस्था नआउन्जेल प्रचलित नियमअनुसार काम रोक्नु हुँदैन। आईजीन परिवर्तन गर्ने वा नगर्ने विषयमा छलफल हुँदै गर्छ, तर त्यसकै कारण सूचीकरण, सेयर रूपान्तरण वा अन्य नियमित काम रोकिएर बस्नु हुँदैन,’ अध्यक्ष भट्टले भने।