काठमाडौँ: गैरआवासीय नेपालीहरूले (एनआरएनए) नेपालमा लगानी गर्न आफूहरू सधैँ उत्साही रहेको तर लगानी गर्दा मुख्य रूपमा दुईवटा समस्या औँल्याएका छन्। चीनको ग्वाङझाउमा चलिरहेको ११ औँ दक्षिण एसिया प्यासिफिक सम्मेलनमा उनीहरूले यस्तो साझा चिन्ता देखाएका हुन्।

एसिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोपसम्म फैलिएका नेपालीहरू नेपालमै केही गर्न चाहने तर त्यहाँ लगानी गर्दा भोग्नुपर्ने झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ताले मुख्य रूपमा सताउने गरेको बताएका छन्।

एनआरएनएका पूर्वअध्यक्ष एवं कोरियालाई कार्यक्षेत्र बनाई सफल व्यवसाय गरिरहेका विनोद कुँवरले नेपालमा काम कम गर्ने अनि गफ बढी गर्ने प्रवृत्ति पनि समस्या भएको बताए।

उनले नेपालमा कानुनी प्रक्रिया पनि झन्झटिलो र लामो समयसम्म अल्झनुपर्ने भएको जसले गर्दा लगानीकर्ता निरुत्साहित हुने बताए।

‘मैले नेपाल र कोरिया दुवै देशमा बराबर लगानी गरिरहेको छु। नेपालमा गफ धेरै काम कम हुन्छ भन्ने अनुभव भइरहेको छ,’ कुँवरले भने, ‘समय अनुसारको योजना बनाउनुपर्छ। समयमै काम हुनुपर्छ। नत्र त्यो कामले नतिजा दिँदैन। अनि समय पनि पर्याप्त दिनुपर्छ।’ नेपालको कानुनले चारदेखि पाँच घण्टा कामै गर्न नदिने भन्दै यसले गर्दा नेपालमा लगानी गर्दा धेरै दुःख हुने गरेको उनले सुनाए।

‘जहाँ जहाँ कानुनी समस्या छन् त्यसलाई तत्कालका लागि सरकारले सहजीकरण गर्नुपर्छ। नेपालमा ब्याज निकै महँगो छ,’ उनले भने ‘यस्ता कुरामा पुनर्विचार गर्नुपर्छ।’

एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोले बाहिर रहेका हरेक नेपाली मेरो देश कहिले बन्छ भनेर उनीहरू चिन्तन गरेर बसेको र मैले नगरे कसले गर्छ भन्ने चिन्ता उनीहरूमा देखिएकाले नेपाल सरकारले यसलाई अवसरको रूपमा अघि बढाउनुपर्ने सुझाव दिए।

‘नेपाल नेपालीहरूले नै बनाउने हो। राम्रा र मिठा कुराले मात्र देश बन्ने भए उहिल्यै बन्थ्यो। हामी मिठा कुरा गर्न सिपालु छौँ,’ उनले भने ‘अब नेपालीको सभ्यता बचाएर विकास गर्नुपर्ने छ। यही एउटा हामी सबैले संकल्प गर्नु परेको छ।’

सबै गैर आवासीय नेपालीहरूको एउटै सपना भएको र त्यो समृद्ध नेपाल भएको उनले बताए।

‘गैरआवासीय नेपालीको लगानीले मात्र समृद्ध हुँदैन तर उनीहरू बिना पनि हुँदैन,’ उनले भने ‘यो सत्य अब नेपाल सरकारले बुझेर सहज कानुनहरू बनाउनुपर्छ। यसका लागि पुनर्संरचना गर्ने कानुनी काममा ढिलाइ गर्न हुँदैन।’

नेपाल जस्तो लगानीको राम्रो ठाउँ अन्यत्र नभएको भन्दै उनले संसारको जुनसुकै देशमा पनि समस्या हुने तर त्यसलाई कसरी सम्बोधन गर्ने र लगानीको सुरक्षा गर्ने भन्ने हुने उनको तर्क छ।

उनले कानुन देखाएर वा प्रहरी देखाएर डराएर धम्काएर नहुने भन्दै यसका लागि फकाएर र लगानीकर्तालाई सहजता गराएर देश विकास गर्न सकिने सुझाव दिए।

‘उद्यमीहरूलाई धम्काएर वा डराएर होइन। देशको राम्रो वातावरण बनाएर अनि कानुनी सुरक्षा दिएर लगानी ल्याउन सकिन्छ,’ महतोले भने, ‘यस्तो लगानी ल्याउँदा एनआरएनए नेपालीमात्र आउँदैन उसले वैदेशिक लगानी पनि भित्र्याउँछन्।’

वरिष्ठ उपाध्यक्ष रविन शेरचनले नेपालमा लगानीको विषयमा धेरै क्षेत्रहरू भएको केही नयाँ पहिचान गर्नुपर्ने क्षेत्रहरू पनि भएकाले अब लगानी बढाउनुपर्ने बताए।

त्यस्तै कोरियामा रहेका अनुसन्धानकर्ता देवीबहादुर बस्नेतले नेपालमा मेडिकल र प्रोटिन क्षेत्रमा नयाँ इनोभेसनको काम गर्ने अवसर रहेको बताए।

‘नेपालमा नयाँ क्षेत्रमा काम गर्ने अवसर प्रशस्तै छन्। के छ त्यो खोज्नुपर्छ’, उनले भने, ‘नेपालको वातावरणका कारण पनि मेडिकल क्षेत्रमा लगानी गर्न सकिन्छ।’

नेपालमा भएको वातावरणले पनि माइक्रोवेभमार्फत प्रोटिनहरू बनाउन सकिने र यो चीन, कोरिया र भारतसहित विश्वभर सप्लाई गर्न सकिने भएकाले यसको सम्भावना धेरै भएको बताए।

‘जेनेटिक आइसोलेसन गरेर पनि इनोभेसन्सको काम गर्न सकिन्छ,’ उनले भने ‘यसका लागि कानुन सरकारले सहज बनाउनुपर्छ अनि एनआरएनए नेपालीहरूका लागि ठुलो अवसर हुनसक्छ।’

एनआरएन चीनका पूर्वअध्यक्ष निर्मल शर्मा चौलागाईले नेपाल र चीनका बीचमा धेरै काम गर्न सकिने तर पूर्वाधारले समस्या भइरहेको बताए। आफूहरूले अहिले पनि वर्षमा ६ महिनामात्र उत्तरी नाकाबाट नेपाल सामग्री सप्लाई गर्न सकेको र सरकारले पूर्वाधार समयमा नबनाउँदा उद्योगीहरू लामो समयसम्म नाकामै सामान छाड्दा ठूलो नोक्सानमा परेको उनले बताए।

त्यस्तै एनआरएनए चीनकै पूर्वअध्यक्ष रोहित अग्रवालले कुनै पनि लगानीलाई नाफासँग जोड्न जरुरी हुने र त्यसका लागि कानुनी रूपमै ग्यारेन्टी हुनुपर्ने बताए।

लगानीका क्षेत्रमा लामो समयदेखि अनुसन्धान गरिरहेका अरुणकुमार सुवेदीले नेपालको समस्या हरेक दिन खर्ब लगानी गर्ने लगानीकर्ताले नासु र सुब्बालाई दैनिक नमस्कार गर्नुपर्ने भएको बताए।

यत्रो लगानी गर्नेलाई के चाहिन्छ भनेर सरकारले सुविधा दिएर काम गराउने भन्दा कसरी अड्काउने भनेर नासु र सुब्बाले कार्यालय धाउने पद्धति र कानुन कायम राखेसम्म एनआरएनएको लगानी नेपालमा आउन नसक्ने बताए।

अहिले विदेशमा रहेका ४० प्रतिशतले नेपालमा लगानी गर्न चाहेको अनुसन्धानमा देखिएको तर त्यहाँको राजनीतिक अस्थिरताले समस्या हुने गरेको उनले बताए।

नेपालको जीडीपी भन्दा तीन गुणा बढी बाहिर बसेका नेपालीहरूको आम्दानी भएकाले यसबाट नेपालले फाइदा उठाउनुपर्ने उनले बताए।

त्यस्तै चीनका कार्यवाहक राजदूत रोशन खनालले लगानीको सम्भावना कहाँ के छ खोजी गरेमा राजदूतावासले सहयोग गर्ने बताइन्। उनले चीनमा रहेर व्यवसायमा सफल भएका ६१ प्रतिशतले नेपाल फर्कन चाहना आफूसँग व्यक्त गरेको बताइन्।

त्यस्तै नेकपाका पूर्वसांसद माधव सापकोटाले लगानीको कुरामात्र भइरहेको तर रेमिट्यान्स कता गइरहेको छ र त्यसलाई लगानीमा किन रूपान्तरण गर्न सकिन्छ भन्नेमा पनि छलफल गर्नुपर्ने बताए।

सामाजिक न्यायसहित आर्थिक समृद्धिमा कसरी जान सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्ने बताए। रास्वपाका सांसद खगेन्द्र सुनारले लगानीको वातावरण बनाउने कुरामा रास्वपा सधैँ तयार रहेको र आफ्ना घोषणापत्रमा पनि यो कुरा उल्लेख गरेको बताए।

युवा व्यवसायीलाई लगानीको वातावरण बनाउनुपर्ने र विदेशमा सीप र क्षमता कमाएकाहरू अब नेपाल फर्कनुपर्ने उनले बताए।