काठमाडौँ: कर कार्यालयको उपभोक्ता प्रोत्साहन योजनाअन्तर्गत दोस्रो चरणको बम्पर पुरस्कार एक जना उपभोक्ताले केवल ३५० रुपैयाँको खरिदबाट जितेका छन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट सामान खरिद गरी बिल दर्ता गरेका ती उपभोक्ता १० लाख रुपैयाँको मुख्य पुरस्कारका विजेता बनेका हुन्।
विभागका अनुसार साउन १६ देखि ३१ गतेसम्म सञ्चालन गरिएको दोस्रो चरणमा नगद कारोबारका बिल दर्तामा उल्लेखनीय वृद्धि भएको छ। यस अवधिमा प्राइज पोर्टलमा ३ लाख ५७ हजार १४९ वटा बिल दर्ता भएका छन्, जबकि साउनको पहिलो १५ दिनमा यस्तो संख्या ७ हजार ७७ मात्रै थियो।
डिजिटल भुक्तानीमार्फत योजनामा सहभागी हुने उपभोक्ताको संख्या पनि बढ्दो देखिएको छ। क्युआरमार्फत स्वतः सहभागी हुने कारोबार २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको विभागले जनाएको छ।
पछिल्लो १७ दिनमा योजना अन्तर्गत कुल ३ करोड २४ लाख ४३ हजार २२९ कारोबार सहभागी भएका थिए। ती कारोबारको आधारमा आइतबार १७ जना विजेता छनोट गरिएको विभागले जानकारी दिएको छ।
मुख्य बम्पर पुरस्कारबाहेक साउन १६ देखि ३१ गतेसम्मका १७ जना उपभोक्ताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन्। कर कटौतीपछि उनीहरूको हातमा १ लाख रुपैयाँ पुग्नेछ।
१० लाख रुपैयाँको बम्पर पुरस्कारमा भने प्रचलित व्यवस्था अनुसार २५ प्रतिशत कर लाग्ने विभागले जनाएको छ।
