काठमाडौँ: आर्थिक तथा सामारिक रूपमा विश्वकै शक्तिशाली मुलुक अमेरिका विस्तारै ऋणको पासो (डेब्ट ट्रयाप) मा पर्दै गएको छ। अमेरिकी सरकारको ऋण बढेर ४ सय खर्ब (४० ट्रिलियन) डलर माथि पुगेको छ।
डोनाल्ड ट्रम्पले सन् २०१६ मा राष्ट्रपतिको रुपमा पहिलो पटक पदभार सम्हालेयता सार्वजनिक ऋण २०० खर्ब (२० ट्रिलियन) डलर वृद्धि भएको हो। हाल अमेरिकाको कूल ग्राहर्स्थ उत्पादन (जीडीपी) ३ सय २४ खर्ब ८० अर्ब (३२.४८ ट्रिलियन) डलर रहेको छ।
जीडीपीको आकार भन्दा अमेरिकाको सार्वजनिक ऋण बढी छ। यसले गर्दा शक्तिशाली मुलुक अमेरिका पनि विस्तारै ऋणको पासोमा पर्दै गएको संकेत गर्छ।
अमेरिकी अर्थ मन्त्रालय (ट्रेजरी डिपार्टमेन्ट) को पछिल्लो तथ्यांकअनुसार, अमेरिकाको राष्ट्रिय ऋण पहिलो पटक ४० ट्रिलियन डलरको सीमा पार गरेको हो। रक्षा, सामाजिक सुरक्षा र मेडिकेयर (स्वास्थ्य सेवा) मा बढ्दो खर्च तथा ऋणको ब्याज भुक्तानीको भारले संघीय ऋणलाई कीर्तिमानी स्तरमा पुर्याएसँगै यो अवस्था सिर्जना भएको हो।
स्वास्थ्य सेवा र निवृत्तिभरण (रिटायरमेन्ट) सुविधाहरूका लागि दीर्घकालीन दायित्वहरू बढिरहँदा ऋण लिने गतिले अघिल्ला अनुमानहरूलाई समेत उछिनेको छ। जसका कारण यो नयाँ विन्दु कायम भएको हो।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार, कुल ऋण ४०.०४७ ट्रिलियन डलर पुगेको छ। यसमा सर्वसाधारणसँग रहेको ३२.२६६ ट्रिलियन डलर र सरकारी निकायहरूबीच नै रहेको इन्टर गभरमेन्टल होल्डिङ्स ७.७८२ ट्रिलियन डलर समावेश छ।
ऋणले ३९० खर्ब (३९ ट्रिलियन) डलरको सीमा पार गरेको पाँच महिनाभन्दा कम समयमै यो नयाँ कीर्तिमान कायम भएको हो। जनवरी २०१७ मा डोनाल्ड ट्रम्पले पहिलो पटक पदभार सम्हाल्दा ऋण १९९ खर्ब ५० अर्ब (१९.९५ ट्रिलियन) डलर थियो। एक दशकको अवधिमा ऋण भार दोब्बरभन्दा बढी पुगेको छ।
ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले अन्तर्राष्ट्रिय समाचार संस्था एपीलाई बताएअनुसार, ट्रम्प प्रशासन संघीय खर्चमा हुने अपव्यय, ठगी र दुरुपयोगलाई कटौती गर्ने तथा आर्थिक वृद्धिलाई गति दिँदै अमेरिकाको ऋण–जीडीपी अनुपातलाई सही दिशामा लैजाने कार्यमा केन्द्रित छ।
समाचार संस्था रोयटर्सका अनुसार, चालू आर्थिक वर्ष सकिन अझै दुई महिना बाँकी रहँदै गर्दा आर्थिक वर्ष २०२६ को पहिलो १० महिनामै अमेरिकी बजेट घाटाले आर्थिक वर्ष २०२५ को पूर्णवर्षिय घाटाको आँकडालाई समेत नाघिसकेको छ।
बढ्दो ब्याज खर्च तथा सामाजिक सुरक्षा र मेडिकेयर जस्ता कार्यक्रमहरूमा हुने खर्चले संघीय बजेटमाथि बढ्दो दबाब सिर्जना गरिरहेको वित्तीय निगरानीकर्ताहरुले चेतावनी दिएका छन्।
“४० ट्रिलियन डलरको ऋण केवल सरकारी खातामा मात्र सीमित छैन। यसको असर सम्पूर्ण अर्थतन्त्रमा पर्छ र कुनै न कुनै रूपमा यो सर्वसाधारणको खल्तीसम्म आइपुग्छ” कमिटी फर अ रेस्पोन्सिबल फेडरल बजेट कमिटिकी अध्यक्ष माया म्याकगिनीसले रोयटर्सलाई बताइन्।
यसका साथै, अमेरिकी संसद कंग्रेसलाई बजेट विश्लेषण उपलब्ध गराउने गैरपक्षीय वित्तीय निकाय कंग्रेसकोनल बजेट अफिसका अनुसार, ट्रम्पको दोस्रो कार्यकालका लागि प्रस्तावित ‘वन बिग ब्युटिफुल बिल एक्ट’ले अमेरिकी ऋणमा थप ४७ खर्ब (४.७ ट्रिलियन) डलर थप्ने अनुमान गरिएको छ।
विभिन्न प्रशासनहरूको पालामा ऋणको मात्रा तीव्र गतिमा बढेको छ। जसमा ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा महामारीका बेला गरिएको खर्चले यो वृद्धिको ठूलो हिस्सा ओगटेको छ। रोयटर्सले उल्लेख गरेका तथ्यांकअनुसार, ट्रम्पको पहिलो कार्यकालमा सार्वजनिक ऋण ७८ खर्ब (७.८ ट्रिलियन) डलर र बाइडेनको राष्ट्रपतीय कार्यकालमा ८४ खर्ब (८.४ ट्रिलियन) डलर बढेको थियो।
ऋणको ब्याज खर्च पनि अमेरिकी सरकारलाई बजेटमा ठूलो भार बनेको छ। आर्थिक वर्ष २०२६ को पहिलो १० महिनामा ब्याज भुक्तानीले स्वास्थ्य सेवा खर्चलाई उछिनेर सामाजिक सुरक्षापछिको दोस्रो ठूलो संघीय खर्चको रूप लिएको छ।
बाइपार्टिसन पोलिसी सेन्टरको अनुमान छ कि आगामी २०२७ को हिउँदको अन्त्यदेखि गर्मीको मध्यसम्मको अवधिमा अमेरिकाले आफ्नो ४११ खर्ब (४१.१ ट्रिलियन) डलरको ऋण सीमालाई छुनेछ। जसले गर्दा कंग्रेस ऋण लिने सीमाबारे पुनः विचार गर्न बाध्य हुन सक्छ।
