काठमाडौँः नेपाल लेखामान बोर्डले लामो समयदेखि रिक्त रहेका सदस्य पदमा नियुक्ति पाएसँगै पूर्णता पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मन्त्रीस्तरीय निर्णयबाट सुमन डंगोल, दिनेश थकाली, दुर्गा प्रसाद ज्ञवाली, अनुज आचार्य, इशा श्रेष्ठ र केदारनाथ पौडेल सदस्यमा मनोनीत भएका हुन्। उनीहरू आईक्यान काउन्सिलको सिफारिसमा सरकारको तर्फबाट बोर्ड सदस्य बनेका हुन्।
बोर्डको अध्यक्षमा रमेश कुमार धिताल छन्। उनलाई मन्त्रिपरिषद्को जेठ २९ गतेको निर्णयबाट अध्यक्ष नियुक्त गरिएको थियो। बोर्डमा धितोपत्र बोर्ड, आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्ट्रार कार्यालय, अर्थ मन्त्रालय, महालेखापरीक्षकको कार्यालय र महालेखा नियन्त्रक कार्यालयका पदेन तथा प्रतिनिधि सदस्यसमेत छन्।
बोर्डले पूर्णता पाए पनि अहिलेसम्म पूर्ण बैठक बस्न सकेको छैन। अब भने बैठक बसेर बैंक तथा वित्तीय क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरिरहेको ‘कार्भ आउट’को विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
एनएफआरएसअन्तर्गतका केही प्रावधान तत्काल कार्यान्वयन नगरी निश्चित अवधिसम्म पछि सार्ने व्यवस्थालाई कार्भ आउट भनिन्छ। लेखामान बोर्डको सिफारिसमा यस्तो सुविधा उपलब्ध गराउन सकिने व्यवस्था छ। यसको प्रत्यक्ष प्रभाव बैंकहरूको प्रोभिजन, नाफा तथा लाभांशमा पर्न सक्ने भएकाले बैंकिङ क्षेत्रले बोर्डको निर्णयलाई विशेष चासोका साथ हेरिरहेको छ।