काठमाडौँ: रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि गृह मन्त्रालयले पाँच जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनामा भोटेकोशी र त्रिशूली नदी आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ। नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा रहेका परिवारलाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा बस्न मन्त्रालयले अनुरोध गरेको हो।
बाढीका कारण खोज तथा उद्धार आवश्यक परेमा वा तत्काल सहयोग चाहिएको अवस्थामा गृह मन्त्रालयको टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
यसैबीच, सम्भावित जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडकखण्ड तथा मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ। ती सडकमा आवतजावत रोक्नसमेत सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
गृहमन्त्री सुधन गुरुङले बाढी तथा पहिरोको जोखिम कायम रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रमा मानिस तथा सवारीसाधनको आवतजावत नियन्त्रण गर्न आग्रह गरेका छन्।