काठमाडौँ: प्रधानमन्त्री वालेन्द् शाहले रसुवाको भोटेकोशीमा आएको बाढीले क्षणभरमै ठूलो मानवीय क्षति पुर्याएको बताएका छन्। बुधबार प्रतिनिधिसभामा उनले विपद्बाट रसुवा, नुवाकोट र धादिङमा भएको क्षति ती जिल्लाको मात्र नभई सिंगो देशको साझा पीडा भएको बताए।
‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो,’ उनले भने ।
प्रधानमन्त्री शाहले संकटका बेला नेतृत्वले निराशा होइन, जनतालाई हिम्मत र भरोसा दिनुपर्ने बताए। विपद्को समयमा थकान र पीडाका कारण विश्राम लिने अवस्था नरहेको उल्लेख गर्दै उनले उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको भनाइ राखे।
बाढी आएपछि सरकारले गरेका कामहरूको टाइमलाइन उनले यसरी सुनाएका छन्–
भदौ १० गते
बिहान ८:४५ बजे: रसुवाको भोटेकोशीमा भीषण बाढी आएको सूचना प्राप्त। तत्कालै जिल्ला विपद् व्यवस्थापन समितिबाट ब्रिफिङ र सुरक्षा सतर्कताको निर्देशन।
बिहान ९:०० बजे: तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान जिल्ला प्रशासन कार्यालयमार्फत आग्रह।
बिहान ९:१५ बजे: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, उद्धार कार्यको खाका तयार।
बिहान ९:३५ बजे: टेलिकममार्फत प्रभावित क्षेत्रका नागरिकको मोबाइलमा सतर्कता सन्देश (एसएमएस) प्रवाह।
बिहान ९:४५ बजे: उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रस्थान (पहिलो उडान) र निजी हेलिकप्टरहरू ‘स्ट्याण्डबाइ’ मा।
बिहान १०:०० बजे: नेपाली सेनाको मनसुन कमाण्ड पोष्टको आकस्मिक बैठक, स्रोत परिचालनको निर्णय।
बिहान १०:३० बजे: विमानस्थलमा खोज तथा उद्धार र आकस्मिक टोली तयारी अवस्थामा। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन।
बिहान ११:०० बजे: प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय परिषद्को बैठक। खोज, उद्धार र उपचारलाई प्राथमिकता दिने र ड्रोन टोली परिचालन गर्ने निर्देशन।
दिउँसो १२:३० बजे: मन्त्रिपरिषद्को आकस्मिक बैठक। १५ स्थानीय तहलाई ३ महिनाका लागि ‘संकटग्रस्त क्षेत्र’ घोषणा। मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय।
दिउँसो १:०० बजे: प्रभावित क्षेत्रका संघीय सांसद र स्थानीय जनप्रतिनिधिहरूसँग वस्तुस्थिति बारे छलफल।
दिउँसो ३:०० बजे: सूचना तथा सञ्चार मन्त्रीको टोली स्थलमार्ग हुँदै प्रभावित क्षेत्रतर्फ प्रस्थान।
बेलुका ७:४० बजे: प्रधानमन्त्री राहत तथा उद्धार कोषमा सहयोगका लागि सार्वजनिक अपिल।
मध्यरात: ८ ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा प्रस्थान। सोही दिनदेखि मोबाइल सेवा (भ्वाइस, डाटा, एसएमएस) निःशुल्क।
भदौ ११ गते (दोस्रो दिन):
बिहानै प्रधानमन्त्री र पूर्वाधार विकास मन्त्रीको टोली स्थलमार्गबाट प्रभावित क्षेत्रमा पुगेर निरीक्षण।
निरीक्षणपछि मन्त्रिपरिषद्को बैठकबाट रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ निकासा।
विदेशी नागरिकका लागि आकस्मिक प्रतिकार्य टोली गठन। कर्मचारीलाई कार्यस्थल नछोड्न निर्देशन।
रातको ८:०० बजेसम्मको प्रगति: १३,३०० सुरक्षाकर्मी परिचालन, ६९ उडानमार्फत ३५१ जनाको उद्धार। ३,५०० जनालाई विद्यालय र सार्वजनिक भवनमा बस्ने व्यवस्था।
नुवाकोट र धादिङका सैनिक ब्यारेकहरूमा राहत सामग्री भण्डारण र वितरण। त्रिशूलीमा फिल्ड अस्पताल पठाएको र काठमाडौँबाट थप १० ट्रक राहत सामग्री पठाइएको।
प्रधानमन्त्री र मन्त्रीहरूको १ महिनाको तलब राहत कोषमा जम्मा गर्ने निर्णय।