काठमाडौं। भोटेकोशी त्रिशूली बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्न होटल संघ नेपाल (हान) का सदस्य होटलहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोडौँ रुपैयाँ सहयोग गरेका छन्।
संघले बेपत्ता नागरिक र पर्यटकका आफन्तका लागि निःशुल्क बसोबास तथा खानपानको व्यवस्था समेत मिलाएको जनाएको छ। संघले बिहीबार विज्ञप्ति जारी गर्दै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिक र पर्यटकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोज तथा उद्धार छिट्टै टुंगिने आशा व्यक्त गरेको छ। संघका अनुसार सदस्य होटलहरूको सहयोगमा हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उल्लेख्य रकम जम्मा भएको छ।
सबैभन्दा बढी होटल किङ्सबेरीले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ भने चन्द्रागिरी हिल्सले ५२ लाख ५१ हजार रुपैयाँ, होटल मेची क्राउनले २६ लाख रुपैयाँ र एभरेष्ट होटलले २० लाख रुपैयाँ प्रदान गरेका छन्।
त्यसैगरी रामडा इन्क्योर ठमेलले ११ लाख ११ हजार १११ रुपैयाँ, अर्किड ग्लोरी लिमिटेडअन्तर्गतका होटल क्राउन इम्पेरियल र माउन्ट ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पाले ५ लाख ११ हजार १११ रुपैयाँ, ड्रिम ग्रुप बुटवलले ५ लाख ३ हजार रुपैयाँ र होटल सारथीले १ लाख ६५ हजार रुपैयाँ सहयोग गरेका छन्।
होटल एम्बासडरले १ लाख, क्लब हिमालयले १ लाख, होटल संघ नेपाल सिन्धुलीले १ लाख ४ हजार २८५ रुपैयाँ सहयोग गरेको छ। केही होटलका कर्मचारीहरूले पनि व्यक्तिगत रूपमा राहत कोषमा योगदान गरेका छन्।
संघले आफ्नै राहत कोषमा एयरपोर्ट होटल, ग्रान्ड होटल, होटल स्वागतम, होटल रेनफरेस्टलगायतबाट प्राप्त रकमसमेत संकलन गरी प्रभावित क्षेत्रमा परिचालन गरिने जनाएको छ।
रकम सहयोगसँगै कतिपय सदस्य होटलहरूले खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री प्रत्यक्ष रूपमा प्रभावित क्षेत्र र सम्बन्धित निकायमार्फत उपलब्ध गराइरहेको संघले जनाएको छ।
बाढीपछि बेपत्ता भएका नागरिक र पर्यटकका आफन्तलाई सहयोग गर्न संघले प्रदेश तथा जिल्ला होटल संघहरूसँग समन्वय गरी निःशुल्क बसोबास र खानपानको व्यवस्था मिलाएको जनाएको छ।
नेपाल पर्यटन बोर्डमा स्थापना गरिएको सहायता केन्द्रमार्फत बेपत्ता पर्यटकका परिवारलाई सूचना, समन्वय र आवश्यक व्यवस्थापनमा समेत सहयोग गरिरहेको संघले उल्लेख गरेको छ।
विपद्मा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिक तथा पर्यटकप्रति श्रद्धाञ्जली अर्पण गर्न होटल संघ नेपालले निकट भविष्यमा विशेष प्रार्थना सभा आयोजना गर्ने पनि जनाएको छ।