काठमाडौँ: भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण पीडितलाई आवश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यले ‘लाइभ एड नेपाल’ कार्यक्रम आयोजना हुने भएको छ। शनिबार काठमाडौँको ओक्टेव बियर गार्डेनमा लाइभ एड नेपालले रक्तदान, सर्भिस हेल्थ क्याम्प, चन्दी पाठसहितको साधना, संगीत र कवितालगायतका कार्यक्रम गरी राहत सामग्री उपलब्ध गराउन कार्यक्रम आयोजना गरेको हो।
‘तपाईं एक्लो हुनुहुन्न’ भन्ने सन्देशसहित आयोजना गर्न लागिएको कार्यक्रममा ज्यान गुमाएका तथा अरूको जीवन बचाउन आफ्नो प्राण आहुति दिएका व्यक्तिहरूप्रति सामूहिक श्रद्धाञ्जलीका रूपमा प्रस्तुत हुने लाइभ एड नेपालका सुव्रत सिटौलाले बताए।
कार्यक्रम ती सबै दिवंगत नागरिकको सम्झनामा समर्पित हुने आयोजकले जनाएको छ। विशेषगरी पहिचान हुन नसकेका, चर्चामा नआएका तथा विपद्का क्रममा अरूलाई बचाउन भूमिका निर्वाह गरेका ‘नदेखिएका नायक’हरूको योगदानलाई समेत कार्यक्रममा स्मरण गरिनेछ।
आयोजकका अनुसार कार्यक्रमले विपद्को समयमा देखिएको मानवीय एकता, उदारता, सहनशीलता र आशालाई पुनः स्मरण गराउने उद्देश्य राखेको छ। जात, धर्म, पेशा, संस्कृति लगायतका विभेदभन्दा माथि उठेर साझा पीडा र मानवीय संवेदनालाई आत्मसात् गर्न सहभागीलाई आह्वान गरिएको छ।
कार्यक्रमका लागि रु. १९९, रु. २९९ र रु. ५९९ का टिकट दर तोकिएको छ। आयोजकले टिकटबाट प्राप्त रकम कार्यक्रम व्यवस्थापनमा प्रयोग हुने र खरिद गरिएका राहत सामग्रीको विवरण सार्वजनिक रूपमा उपलब्ध गराउने जनाएको छ।
‘लाइभ एड नेपाल’मार्फत बाढी प्रभावित परिवारका लागि अत्यावश्यक सामग्री संकलन गर्ने तयारीसमेत गरिएको छ। संकलन गरिने सामग्रीमा प्राथमिक उपचारका सामग्री, चिकित्सकको स्वीकृति आवश्यक नपर्ने औषधि, सफा तथा प्रयोगयोग्य कपडा, बालबालिकाका लागि फिडिङ बोतल, पानी शुद्धीकरणका चक्की तथा पियूष, किशोरी तथा महिलाका लागि स्यानिटरी प्याड, बालबालिकाका लागि खेलौना र वृद्धवृद्धाका लागि न्यानो पछ्यौरा लगायत छन्।