काठमाडौँ: व्यवसायी तथा कवि एवं गीतकार वसन्त चौधरी एक वर्षअघि जेनजी आन्दोलनको क्रममा दोस्रो दिन भएको विध्वंसमा जलेको आफ्नो घरमा पुगेका छन्। धुँवाले रगमगिएका र पाप्रा उप्किएका भित्ताहरू अगाडि उभिएर उनले त्यस घरसँग जोडिएका स्मृतिहरू सम्झिएका छन्।
उनका बुवाले चार रोपनी जग्गामा ५० वर्षअघि ठमेलस्थित सरस्वती सदनमा पुगेर उनले घर जल्नुअघि र घर जलेको एक वर्षपछिका दुई तस्बिर राखेका छन्। १६ वर्षको उमेरदेखि बसेको उक्त घरको मूल्य उनले कवितामार्फत् उल्लेख गरेका छन्–
घर खरानी भयो,
विरासतको कथा हराएन।
आगो त निभेर गयो,
तर खरानीको ताप सेलाएन।
आफ्ना बुवाले अत्यन्तै कठिन समयका बाबजुद बडो उत्साहले आफ्ना भावी पुस्ताका लागि निर्माण गरेको पुर्ख्यौली घर आँखैअगाडि खरानी भएको भन्दै उनले दु:ख व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘त्यो केवल इँटा, सिमेन्ट र काठले ठडिएको फगत एउटा घर मात्र थिएन। त्यो त हाम्रा प्रिय आमाबुबाको न्यानो सामीप्यता थियो, हाम्रो परिवारका अनेक पुस्ताको हाँसो-आँसु, संस्कार, पहिचान र सिङ्गो इतिहास सुरक्षित थियो।’
पाँच दशकको साधनाका क्रममा प्राप्त सम्मान, पदवी र विभूषणका चिनोहरूसँगै प्रकाशनको पर्खाइमा रहेका कैयौँ पाण्डुलिपि पनि आँखै अगाडि जलेको उनले बताएका छन्।
उनले लेखेका छन्–
घर खरानी भयो,
विरासतको कथा हराएन।
आगो त निभेर गयो,
तर खरानीको ताप सेलाएन।
पर्खालहरू सबै ढले,
तर स्वरूप ढल्न सकेन।
जताततै आफ्नै छाया देख्छु,
अतीतको त्यो लप्का अझै निभेन।
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
आजभन्दा ठीक एक वर्षअघि, परिवर्तनका नाममा सल्केको हिंसाको डढेलोले देशलाई लपेट्दै लग्यो। देशभरिका कैयौँ भौतिक संरचनासँगै हाम्रा बुबाले करिब पचास वर्षअघि, अत्यन्तै कठिन समयका बाबजुद बडो उत्साहले आफ्ना भावी पुस्ताका लागि निर्माण गर्नुभएको त्यो पुर्खौली घर मेरै आँखाअगाडि खरानी भयो।
त्यो केवल इँटा, सिमेन्ट र काठले ठडिएको फगत एउटा घर मात्र थिएन। त्यो त हाम्रा प्रिय आमाबुबाको न्यानो सामीप्यता थियो, हाम्रो परिवारका अनेक पुस्ताको हाँसो-आँसु, संस्कार, पहिचान र सिङ्गो इतिहास सुरक्षित थियो।
त्यो दिन घरका कोठाहरू मात्र जलेनन्, पचास वर्षभन्दा लामो समयसम्म शब्द-शब्द जोडेर सँगालेको मेरो प्रिय पुस्तकालय पनि ध्वस्त भयो। त्यो मेरो साहित्यिक यात्राको मौन साक्षी, मेरो सिर्जनात्मक ऊर्जाको स्रोत र मेरा एकान्तहरूको सबैभन्दा आत्मीय साथी थियो।
पाँच दशकको साधनाका क्रममा प्राप्त सम्मान, पदवी र विभूषणका चिनोहरू त खरानी भए नै, प्रकाशनको पर्खाइमा रहेका कैयौँ अमूल्य पाण्डुलिपिहरू पनि मेरै अगाडि अक्षर-अक्षर गरेर जले। आफ्ना वर्षौँका अनुभूति र अधुरा सपनाहरू धुवाँ बनेर उडेको हेर्नुबाहेक म असहायसँग अर्को कुनै विकल्प थिएन।
त्यही भग्नावशेषको बीचमा उभिएर मैले मनमनै एउटा प्रण गरेको थिएँ– “हरेक वर्ष आजकै दिन, यसै भूमिमा आएर आफ्ना जलिसकेका स्मृतिहरूलाई शब्दको तर्पण दिनेछु।”
यी दुवै तस्बिर एकै ठाउँका हुन्। एउटा हिजोको अतीत, अर्को आजको वर्तमान। अगाडि उभिएको मानिस त उही हो, तर पछाडिको मेरो संसार पूर्ण रूपमा फेरिएको छ।
विध्वंसको आगोले संरचना त जलाउन सक्छ, इतिहास र विरासत होइन। किनभने, अन्तसमा कुँदिएका स्मृतिहरू कहिल्यै खरानी हुँदैनन्!