काठमाडौँ: मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब दुई लाख रिङ्गिट बराबरका ड्रोन सहयोग गरेको छ।
रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा मानवीय सहायता तथा विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले नेपाल सरकारलाई ड्रोन उपलब्ध गराएको हो।
विपद्का बेला प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन ड्रोन उपयोगी हुने प्रोटोनले जनाएको छ। विशेषगरी सडकमार्गबाट तत्काल पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाई निरीक्षणमा ड्रोन प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।
ड्रोन सहयोगको व्यवस्थापन तथा समन्वय मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (एनएडिएमए) ले गरेको हो। कम्पनीका अनुसार ड्रोनहरू सुरुमा मलेसियास्थित स्पेसल मलेसिया डिजास्टर असिस्टेन्स एन्ड रेस्क्यु टिम (एसएमएआरटी) को मुख्यालयमा एनएडिएमएलाई हस्तान्तरण गरिएको थियो। हाल नेपालमा मानवीय सहायता तथा विपद् उद्धार अभियानमा खटिएको एसएमएआरटीको टोलीले ड्रोन नेपाल ल्याउने व्यवस्था मिलाएको थियो।
प्रोटोनका अनुसार नेपाल सरकारलाई प्रदान गरिएका यी ड्रोन नेपाल सरकारकै स्वामित्वमा रहनेछन्। नेपालमा प्रयोग गर्नुअघि एसएमएआरटीको टोलीले सम्बन्धित नेपाली निकायका कर्मचारीलाई ड्रोन सञ्चालनसम्बन्धी आवश्यक तालिमसमेत दिनेछ।
ड्रोन हस्तान्तरण कार्यक्रममा प्रोटोन इन्टरनेसनल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङ, एनएडिएमएका महानिर्देशक दातो’ मियर इसमाइल बिन मियर अकीम तथा मलेसियाको विदेश मन्त्रालयका प्रतिनिधि चु ह्वाई जेङ र इन्चिक जुल इज्बान हम्जाको सहभागिता थियो।
नेपालमा प्रोटोन ई मास ब्रान्डको आधिकारिक वितरकका रूपमा जगदम्बा मोटर्स रहेको छ। जगदम्बा मोटर्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चार करोड रुपैयाँ नगद योगदान गरेको छ।