काठमाडौँः बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पाएका छन्।
निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएपछि सिबिफिनको अध्यक्ष पद रिक्त भएको थियो। भदौ २५ गते बसेको सिबिफिन कार्यसमितिको बैठकले आगामी वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन नभएसम्म संस्थाको नेतृत्व सम्हाल्ने गरी उपाध्यायलाई सर्वसम्मत रूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।
महालक्ष्मी विकास बैंकका अध्यक्षसमेत रहेका उपाध्याय बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब अढाई दशकदेखि सक्रिय छन्। सिबिफिनको स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर काम गरेका उनले संस्थाको विकासमा योगदान पुर्याउँदै आएका छन्।
वर्तमान आर्थिक चुनौतीका बीच बैंकिङ क्षेत्रका नीतिगत तथा व्यावहारिक समस्या समाधान, क्षेत्रको स्थायित्व र दिगो विकासमा उपाध्यायको नेतृत्व प्रभावकारी हुने अपेक्षा सिबिफिनले गरेको छ।