चितवन– चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैंसी वितरण गरेको छ। वडा–३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैंसी वितरण गरिएको हो।
किसानलाई व्यावसायिक बनाएर दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैंसी वितरण गरिएको पशु विकास अधिकृत शालिग्राम पौडेलले जानकारी दिए। उनले भैँसीसँगै किसानलाई चापाकटर, पानी तान्ने मोटर, ठेलागाडा र औषधीसमेत वितरण गरिएको बताए।
चार जनालाई चापाकटर, एक जनालाई ठेलागाडा, दुई जनालाई पानी तान्ने मोटर, १६ किसानलाई औषधी वितरण गरिएको छ। अधिकृत पौडेलका अनुसार नगरमा संघीय सरकारको सहयोगमा भैँसी पकेट क्षेत्र सञ्चालन गरिएको छ।
पकेट क्षेत्र सञ्चालनका लागि साइराम पशुपालन फार्म समूह गठन गरी काम गरिएको छ । समूहमा रहेका १६ किसानले गोठमा कम्तीमा १ सय भैंसी र दैनिक १ हजार लिटर दूध उत्पादन गर्नुपर्ने हुन्छ। पकेट क्षेत्रका १६ किसानको गोठ निर्माण तथा मर्मतको काम गरिएको उनले बताए। कार्यक्रम सञ्चालनपछि पशुपालन क्षेत्रमा लाग्ने किसान उत्साहित भएको उनको भनाइ छ।
जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सघाउने रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए। किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिकाले निरन्तर सहयोग गरिरहेको उनको भनाइ छ।

