काठमाडौँः भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट ऊर्जा तथा पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुगेको छ।
रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले बाढीबाट ७०० मेगावाट क्षमताका १४ जलविद्युत् तथा सौर्य आयोजनामा ठूलो क्षति पुगेको उल्लेख गरेको छ। तीमध्ये ३०० सय मेगावाट क्षमताका आयोजना सञ्चालनमा रहेका थिए भने बाँकी निर्माणाधीन अवस्थामा थिए।
बाढीले रसुवा र नुवाकोट जिल्लामा सबैभन्दा ठूलो क्षति पुर्याएको छ। यस्तै धादिङमा पनि तुलनात्मक रूपमा कम क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
नदीको माथिल्लो क्षेत्रमा रहेका गाउँ, बस्ती तथा साना बजारसमेत बाढीबाट प्रभावित भएका छन्। यस क्षेत्रमा आर्थिक गतिविधिको प्रमुख आधार जलविद्युत् आयोजना र चीनतर्फको व्यापारिक नाका रहेकाले बाढीको प्रभाव स्थानीय अर्थतन्त्रमा समेत परेको छ।
इक्रा नेपालका अनुसार प्रभावित जलविद्युत् आयोजनाको पुनर्निर्माणमा बीमा रकमले ठूलो राहत दिने अपेक्षा गरिएको छ। धेरै आयोजनाको भौतिक संरचनामा भएको क्षति बीमाबाट पूर्ति हुने र सञ्चालनमा रहेका आयोजनाको आम्दानीमा परेको असरसमेत निश्चित अवधिसम्म बीमाले समेट्ने अपेक्षा गरिएको छ।
बाढीबाट प्रभावित आयोजनाका ऋणलाई पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने सम्भावना पनि रहेको प्रतिवेदनले औँल्याएको छ। विगतमा भूकम्प तथा ठूला प्राकृतिक विपत्तिपछि अपनाइएको अभ्यासअनुसार नेपाल राष्ट्र बैंकबाट प्रभावित ऋणीलाई कर्जा भुक्तानीका लागि थप समय उपलब्ध गराउने व्यवस्था आउन सक्ने अपेक्षा गरिएको छ। नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) अवधि थप गर्ने विषयमा समेत लचकता आवश्यक रहेको इक्रा नेपालको भनाइ छ।
बाढीले बीमा क्षेत्रमासमेत ठूलो दाबी सिर्जना गर्ने देखिएको छ। घर, सवारीसाधन, आयातका क्रममा रहेका सामान तथा अन्य बिमित सम्पत्तिमा भएको क्षतिका कारण साधारण बीमा कम्पनीमा दाबी बढ्ने अनुमान गरिएको छ। त्यस्तै, मानवीय क्षतिका कारण जीवन बीमा कम्पनीमा समेत दाबी बढ्न सक्ने प्रतिवेदनमा उल्लेख छ।
यस घटनाका कारण नेपाल रि–इन्स्योरेन्स कम्पनीको रेटिङ घटाइएको तथा केही बीमा कम्पनीलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ सूचीमा राखिएको इक्रा नेपालले जनाएको छ। यद्यपि, केही कम्पनीको ठूलो प्राकृतिक विपत्तिका लागि गरिएको बीमा सुरक्षाले सम्भावित क्षति व्यवस्थापनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
ऊर्जा क्षेत्रतर्फ त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र मल्टी इनर्जी डेभलपमेन्ट लिमिटेडलाई समेत इक्राले वाच लिस्टमा राखेको छ। त्रिशूली जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ३७ मेगावाटको अपर त्रिशूली–३ बी आयोजना र मल्टी इनर्जीले निर्माण गरिरहेको २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना बाढीबाट गम्भीर रूपमा प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।
बैंकिङ क्षेत्रमा पनि बाढीको असर पर्ने भए पनि समग्र बैंकिङ प्रणालीमा तत्काल ठूलो वित्तीय प्रभाव नपर्ने इक्रा नेपालको निष्कर्ष छ। प्रभावित ऋणीका लागि कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्था आउने अपेक्षा र जलविद्युत् आयोजनाको ठूलो हिस्सा बीमाबाट सुरक्षित रहेकाले बैंकिङ क्षेत्रमा पर्ने असर सीमित रहने अनुमान गरिएको हो।
तर प्रभावित क्षेत्रमा रहेका खुद्रा व्यवसाय, साना तथा मझौला उद्यम र पर्यटन व्यवसायमा भने गम्भीर असर पर्न सक्ने प्रतिवेदनले जनाएको छ। त्यस्ता व्यवसायमा क्षति बढेमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा (एनपीएल) बढ्न सक्ने जोखिमसमेत रहेको छ। यद्यपि क्षति मुख्यतः ७७ जिल्लामध्ये तीन जिल्लामा केन्द्रित रहेकाले समग्र बैंकिङ क्षेत्रको वित्तीय प्रभाव ठूलो नहुने इक्रा नेपालको अनुमान छ।
बाढीका कारण चीनसँगको ग्योरोङ बन्दरगाह सञ्चालन बन्द हुनुका साथै तातोपानी नाका पनि बन्द भएको प्रतिवेदनमा उल्लेख छ। यसले नेपाल–चीन सीमापार व्यापारमा थप चुनौती सिर्जना गरेको छ। चीनसँग सञ्चालनमा रहेको प्रमुख मोटरेबल नाकामध्ये कोरला पास मात्र प्रभावकारी अवस्थामा रहेकाले आयातका लागि समुद्री मार्ग प्रयोग गर्दा समय र लागत दुवै बढ्न सक्ने देखिएको छ।
इक्रा नेपालले प्रभावित ऊर्जा तथा पूर्वाधार आयोजनाको पुनर्निर्माण अवधि, पुनर्निर्माण लागत, बिमाबाट प्राप्त हुने रकम, बाँकी क्षतिको व्यवस्थापन र ऋण पुनर्संरचनाको अवस्थालाई निरन्तर निगरानी गर्ने जनाएको छ। क्षतिको वास्तविक विवरण स्पष्ट हुँदै गएपछि सम्बन्धित कम्पनीको वित्तीय अवस्थाअनुसार थप रेटिङ कारबाहीसमेत हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।
बाढीका कारण करिब २० वटा मोटरेबल पुल बगेका छन् भने ७० देखि ८० किलोमिटर सडकमा गम्भीर क्षति पुगेको छ। केही दिनपछि नदीमा आएको थप पानीका कारण राजधानीलाई जोड्ने प्रमुख लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्गको एक खण्डसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रतिवेदनमा उल्लेख छ। सडकसँगै विद्युत् प्रसारण तथा वितरण संरचनामा पनि ठूलो क्षति पुगेको छ।
विशेषगरी त्रिशूली–३ बी हब सबस्टेसनमा भएको क्षतिले आगामी सुख्खायाममा काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा समेत दबाब पर्न सक्ने आईसीआरए नेपालको अनुमान छ। उक्त सबस्टेसन प्रभावित क्षेत्रमा उत्पादन हुने विद्युत् राजधानीतर्फ लैजान महत्वपूर्ण संरचना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।


