काठमाडौँ: म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। फुड इम्पायरले उक्त सहयोग नेपाल चेम्बर अफ कमर्स (एनसीसी) मार्फत प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पुर्याउने उद्देश्यले प्रदान गरेको हो।
हालैको बाढीबाट प्रभावित रसुवालगायतका क्षेत्रमा चेम्बरमार्फत आवश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यले फुड इम्पायर होल्डिङ्सले सहयोग गरेको हो।
चेम्बरका कार्यसमिति सदस्य एवं आर्कस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजुल श्रेष्ठले फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले आर्कस ग्रुपसँग समन्वय गरी नेपाल चेम्बर मार्फत सहयोग गरेको जानकारी दिए।
श्रेष्ठका अनुसार फुड इम्पायर होल्डिङ्सबाट प्राप्त सहयोगलाई प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीका रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
‘फुड इम्पायर होल्डिङ्सको चाहनाअनुसार बाढीबाट प्रभावित नागरिकलाई आवश्यक पर्ने आधारभूत सामग्रीलाई प्राथमिकतामा राखेर पहिलो चरणमा माथिल्लो त्रिशुली क्षेत्रमा खाद्यन्न र लत्ताकपडा, सेनेटरी प्याड लगायतका राहत वितरण गरिएको छ,’ उनले भने।
प्राप्त सहयोगबाट पहिलो चरणमा करिब ३ लाख बराबर सामाग्री वितरण गरिएको छ। बाढी प्रभावित मागको आधारमा अझै २७ लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पठाईने श्रेष्ठले उल्लेख गरे।