काठमाडौँ: चिनी अभाव र मूल्यवृद्धिका विषयमा सर्वसाधारणले गरेको गुनासो र सञ्चारमाध्यममा प्रकाशित समाचारहरूको खण्डन गर्दै सरकारले चिनी अभाव नभएको दाबी गरेको छ।
बाढीपहिरो, सडक अवरोध तथा भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएपछि चाडपर्वमा खपत बढ्ने चिनीको अभाव हुनसक्ने भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको सरकारले जनाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बसेको सरोकारवालाको बैठकपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायत एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी सर्वसुलभ रूपमा बिक्री भइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग विज्ञप्तिमार्फत् बताएको छ।
विभागले चिनीको सहज तथा पर्याप्त आपूर्ति भइरहेको भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी सञ्चय नगर्न आग्रह गरेको छ। पछिल्लो समय चिनी अभाव हुने भन्दै बजारमा विभिन्न चर्चा चले पनि उपभोक्तालाई सहज रूपमा चिनी उपलब्ध भइरहेको दाबी विभागले गरेको छ।
