काठमाडौँ: रसुवा र नुवाकोटमा भोटेकोशी नदीको भीषण बाढी आएपछि स्थगित गरिएको करदाता प्रोत्साहन उपहार कार्यक्रम आज सञ्चालन हुने भएको छ। भदौ १६ गतेका लागि तय भएको कार्यक्रम स्थगित भएपछि त्यसै कार्यक्रमसहित भदौ महिनाभरका विजेताको नाम आज सार्वजनिक गर्न लागिएको हो।
आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाका लागि ३३ जना विजेता छनोट भएका छन्। तीमध्ये ३१ जनाले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने दुई जनालाई बम्पर पुरस्कारस्वरूप जनही १० लाख रुपैयाँ प्रदान गरिनेछ।
रसुवा र नुवाकोटमा भोटेकोशी नदीको बाढीबाट ठूलो क्षति भएपछि देश शोक र विपत्तिमा रहेका बेला पुरस्कार वितरण गर्नु उचित नहुने भन्दै विभागले भदौ १६ गतेका लागि निर्धारित कार्यक्रम स्थगित गरेको थियो। त्यसबेला स्थगित गरिएको कार्यक्रम र भदौ महिनाका विजेताको पुरस्कार वितरण आज एकैपटक गर्न लागिएको हो।
लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको सभाहलमा विशेष कार्यक्रम आयोजना गरी विजेताको नाम सार्वजनिक तथा पुरस्कार वितरण गरिने विभागले जनाएको छ।


