काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले सोधेको स्पस्टीकरण नदिने बताएका छन्। आफूलाई मन्त्रीले नभई मन्त्रिपरिषदले क्यानको महानिर्देशक बनाएकाले मन्त्रिपरिषदलाई मात्रै स्पष्टीकरण दिने सार्वजनिक अभिव्यक्ति अधिकारीले दिएका हुन्।
महानिर्देशक अधिकारीले ‘अत्यन्त जरुरी वा गोप्य पत्र’ भनी लेखेर सोध्नुपर्ने स्पष्टीकरण फेसबुकमा पोस्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने बताएका हुन्। ‘फेसबुकमा पोस्ट गरिएको स्पष्टीकरणको जवाफ मैले दिँदैन,’ उनले भने, ‘विधि, प्रक्रिया र कानुनअनुसार नसोधिएकाले त्यो स्पष्टीकरणको जवाफ नदिने निर्णयमा म पुगेको हुँ।’
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधका थिए। किरातीले रामेश्वर थापाको सिम्रिक एअरलाई काभ्रेमा निजी हेलिप्याड बनाउन सहमति दिने निर्णय गरेका थिए। उक्त निर्णयप्रति क्यानका महानिर्देशक अधिकारीले अहसमति राख्दै आएका थिए। मन्त्रीको उक्त निर्णयको सामाजिक सञ्जालमा समेत विरोध भएको थियो।
अधिकारीले सिम्रिक एअरलाई कुनै हालतमा हेलिप्याड निर्माण गर्न नदिने अडान राखेपछि मन्त्री किरातीले विभिन्न ९ बटा बुँदा राखेर स्पस्टीकरण सोधेका छन्। उक्त स्पष्टीकरणका कारण मन्त्री किराती र महानिर्देशक अधिकारीबीचको सम्बन्धमा चिसिएको छ।
महानिर्देशक अधिकारीले समाजिक सञ्जाल मार्फत सोधिएको स्पष्टीकरणको जवाफ दिन आफू बाध्य नभएको प्रतिक्रिया दिएका छन्। त्यति मात्रै होइन अधिकारीले तत्कालै सिम्रिक एयरलाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका-१४, राउतगाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिपोर्ट निर्माण गर्न दिइएको सैद्धान्तिक सहमतिलाई आजै रोक्ने चेतावनीसमेत दिएका छन्।
‘सिम्रिक एयरलाई हेलिपोर्ट निर्माण गर्न सैद्धान्तिक सहमतिलाई आजै खारेज गर्छु। मलाई मन्त्रिपरिषदले नियुक्ति दिएकाले उसले स्पष्टीकरण सोध्यो भने मात्रै जवाफ दिन्छु’, उनले भने, ‘मन्त्रालयको पत्रमा अत्यन्त जरुरी वा गोप्यपत्र भनी लेखेर सोध्नुपर्ने स्पष्टीकरण सामाजिक सञ्जालमा छरपष्ट भएका छन्। फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिन आवश्यक छैन।’
किरातीले अधिकारीलाई महानिर्देशक भई आएपछि ५ वटा विमान दुर्घटना भएकाले उड्डयन सुरक्षा प्रभाकारी बनाउन असफल भएको, अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ)ले २०२२ मा गरेको उडान सुरक्षा अडिटविपरीत कार्यात्मक विभाजन गरेको, २०७९ पुस १७ गते पोखरा विमानस्थलको उद्घाटनको दिन हेरेर उडान गर्ने (भीएफआर) समय सकिसकेपछि उडान सुरक्षामा प्रतिकूल असर पर्नेगरी ५ वटा उडान गराएको, पोखरा र भैरहवा विमानस्थल सञ्चालन गराउन नसकेको, पोखरा विमानस्थल नजिकै छिनेडाँडाको उचाइ कटानमा हवाई सुरक्षालाई असर पर्नेगरी आर्थिक नोक्सानी सिर्जना गरेका, पोखरा विमानस्थलको परामर्श सेवाको ठेक्कामा प्राधिकरणलाई हानी नोक्सानी हुने गरी ५३ प्रतिशत प्रोभिजनल सम राखेकोलगायत विषयमा स्पष्टीकरण सोधेका छन्।


