काठमाडौँ: नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र जर्मन विकास संस्था जीआईजेडबीच नेपालको मोबिलिटी तथा सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानीको प्रवद्र्धनका लागि सम्झौता भएको छ।
सम्झौतापत्रमा जीआईजेड–केटीएमबी परियोजनाका प्रोग्राम म्यानेजर डिएगो सिनियर र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरी सम्झौता आदानप्रदान गरेका छन्।
सम्झौताअनुसार एनसीएचएलको राष्ट्रिय भुक्तानी पूर्वाधारको प्रयोग गरी केटीएमबी परियोजनाअन्तर्गतका विभिन्न पहलमार्फत नेपालमा सार्वजनिक यातायातसम्बन्धी भुक्तानीको डिजिटलाइजेशनलाई तीव्रता दिइनेछ।
यसअन्तर्गत परियोजनामार्फत विकास गरिएका यातायात टिकटिङ प्रणाली, मोबिलिटी एप्लिकेसन, उपकरण तथा अन्य डिजिटल प्लेटफर्मसँग एनसीएचएलका विभिन्न पेमेन्ट च्यानल एकीकृत गरिनेछ। यसमा नेपालपे क्यूआर, नेपालपे कार्ड र कनेक्टआईपीएसलगायतका भुक्तानी माध्यम समावेश छन्।
सहकार्यअन्तर्गत ओपन–लूप टिकटिङलाई समेत प्रवद्र्धन गरिनेछ। यसबाट यात्रुले एनसीएचएलका भुक्तानी उपकरणमार्फत विभिन्न यातायात प्रणालीमा डिजिटल भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइने जनाइएको छ।
त्यस्तै, टिकटिङ, भाडा संकलन, कारोबार प्रोसेसिङ तथा सेटलमेन्टलगायत सार्वजनिक यातायातसम्बन्धी भुक्तानीका सम्पूर्ण प्रक्रियालाई डिजिटल बनाउन सहकार्यले सहयोग पुग्ने अपेक्षा गरिएको छ। सार्वजनिक यातायातसँगै विकास हुँदै गरेका नयाँ मोबिलिटी सेवामा समेत डिजिटल भुक्तानीको प्रयोग विस्तार गर्ने लक्ष्य राखिएको छ।
एनसीएचएलले प्रणालीको इन्टिग्रेसन, टेस्टिङ तथा डिप्लोयमेन्टका लागि एपीआई उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग प्रदान गर्नेछ। परियोजनाअन्तर्गतका टिकटिङ प्रणाली, एप्लिकेसन तथा उपकरणमा एनसीएचएलका भुक्तानी माध्यमको इन्टिग्रेसनमा समेत सहजीकरण गर्नेछ।
एनसीएचएलका अनुसार दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका मोबिलिटी तथा सार्वजनिक यातायात सेवामा डिजिटल भुक्तानी पूर्वाधारको पहुँच विस्तार गर्ने दिशामा यो सहकार्य महत्वपूर्ण कदम हो। यातायात टिकटिङ तथा भाडा संकलन प्रणालीलाई राष्ट्रिय भुक्तानी पूर्वाधारसँग जोड्दा सार्वजनिक यातायात तथा भविष्यका मोबिलिटी सेवामा डिजिटल भुक्तानीको प्रयोग विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


