काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले बजेटका पक्षमा भोट हाल्न ह्विप जारी गरेको छ। आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेट पारित गर्ने तयारी भइरहेका बेला जसपाले सांसदहरूलाई यस्तो ह्विप जारी गरेको हो।
बुधबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले ह्वीप जारी गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए।
यसअघि नै नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजावादी पार्टीले पनि बजेटका पक्षमा भोट हाल्न ह्विप जारी गरेका छन्। त्यस्तै सत्तारुढ लोसपा र नागरिक उन्मुक्ति पार्टीले पनि आ–आफ्ना सांसदहरूलाई बजेटको पक्षमा उभिन निर्देशन दिइसकेका छन्।
सत्ता समर्थक जनमतले भने बजेटको विपक्षमा उभिने निर्णय गरेको छ। जनमत विपक्षमा उभिएपनि बजेट पारित गर्नका लागि आवश्यक सुविधाजनक मत सरकारले व्यवस्थापन गरेको छ।



