नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘हिमालयन बुटोह फेस्टिभल’ आयोजना हुने भएको छ। जापानबाट विकसित प्रयोगात्मक शारीरिक रंगमञ्च ‘बुटाउ’लाई केन्द्रमा राखेर आयोजना हुन लागेको तीनदिने महोत्सवमा विश्वका सात देशका कलाकारले आफ्ना प्रस्तुति दिने भएका छन्।
असोज ३० देखि कार्तिक १ गतेसम्म (अक्टोबर १६–१८, २०२६) पोखरा–२२, कास्कीस्थित काव्यवाटिका, पुम्दीमा महोत्सव आयोजना हुनेछ। अदृश्य आर्ट्स , आर्ट घर र सद्भाव थिएटर नेपालको संयुक्त सहकार्य रहनेछ।
महोत्सवको नेतृत्व किरण चापागाईं, केदारनाथ पौडेल, भीष्म राज जोशी र राम केएसीले गर्ने आयोजक पक्षले जनाएको छ।
‘बुटाउ’ जापानबाट विकसित भएको एक प्रयोगात्मक डान्स थिएटर तथा फिजिकल थिएटरको शैली हो। यसको कुनै एउटै निश्चित शैली वा कथा संरचना हुँदैन। शरीरको गति, मौनता, समय, संवेदना र भौतिक उपस्थितिमार्फत मानिसका भित्री अनुभूति तथा अस्तित्वका प्रश्नलाई अभिव्यक्त गर्नु यसको प्रमुख विशेषता हो।
‘बुटाउ’ को उद्गम दोस्रो विश्वयुद्धपछि जापानमा भएको हो। युद्धपछिको जापानमा देखिएको सामाजिक, सांस्कृतिक र मानसिक उथलपुथलसँग यसको विकास जोडिएको पाइन्छ। हिरोशिमा र नागासाकीको विनाश, युद्धको स्मृति, मृत्यु, भय तथा आधुनिक समाजको संकटजस्ता अनुभवले यस कलाको संवेदनात्मक पृष्ठभूमिमा प्रभाव पारेका थिए।
आर्ट घरका संस्थापक तथा महोत्सवका नेतृत्वकर्तामध्ये एक भीष्म राज जोशीले महोत्सवले शारीरिक अभिव्यक्ति र प्रयोगात्मक कलाका विभिन्न आयामबारे संवाद र आदानप्रदानको वातावरण निर्माण गर्ने अपेक्षा व्यक्त गरे।
उनका अनुसार, नेपालमा यस किसिमको अन्तर्राष्ट्रिय महोत्सव आयोजना हुनु कलाकारका लागि विभिन्न देशका सिर्जनात्मक अभ्याससँग प्रत्यक्ष साक्षात्कार गर्ने र नेपाली दर्शकका लागि रंगमञ्चको फरक सौन्दर्यसँग परिचित हुने अवसरसमेत हुनेछ।




