काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो ६ मिहनामा सवारी साधनको संख्या ४ प्रतिशतले वृद्धि भएको छ। विसं २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा दर्ता भएका कूल सवारीसाधनको सङ्ख्या ४.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले उल्लेख गरेको हो।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन ४. ३ प्रतिशतले बढेको छ। यस्ता बालीले ढाकेको भूक्षेत्र भने २.१ प्रतिशतले घटेको छ।
खाद्य तथा अन्य बालीको उत्पादन मात्र ५.७ प्रतिशतले बढेको छ। त्यस्तै तरकारी तथा बागवानीको उत्पादन साढे ४ प्रतिशतले बढेको छ। फलफूल र मसलाको उत्पादनमा भने क्रमशः २.२ प्रतिशत र ८.४ प्रतिशतले घटेको छ।
प्रतिवेदनअनुसार पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन १.४ प्रतिशत र मासु उत्पादन १.७ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै अर्धवार्षिक अवधिमा अण्डा उत्पादन २६.३ प्रतिशतले घटेको छ। वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन १६.२३ प्रतिशतले र औषधिजन्य वस्तुको उत्पादन ७.४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा उद्योगको क्षमता उपयोग औसतमा ४३.७ प्रतिशत रहेको छ। यो अवधि बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको अंश २७.९ प्रतिशत रहेको छ।
पुस मसान्तसम्ममा घरजग्गा रजिष्ट्रेशन सङ्ख्या ५०.०३ प्रतिशतले घटेर १ लाख ९६ हजार ५९५ कायम भएको र जग्गा रजिस्ट्रेसनबाट प्राप्त हुने राजस्व रु ९ अर्ब ९० करोड पुगेको प्रतिवेदनमा जनाइएको छ। घर तथा भवनको स्थायी नक्सा पास सङ्ख्या ३७.५ प्रतिशतले घटेको छ।
विसं २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.१ प्रतिशतले र कर्जा प्रवाह ४.१ प्रतिशतले वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थाको कूल निक्षेप र कर्जामा बागमती प्रदेशको अंश क्रमशः ६९.४ प्रतिशत र ५५.६ प्रतिशत रहेको छ। निक्षेप र कर्जामा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम क्रमशः १.२ प्रतिशत र १.२ प्रतिशत रहेको छ।
विसं २०७८ पुस मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्ममा दर्ता भएका कूल सवारीसाधनको सङ्ख्या ४.१ प्रतिशतले वृद्धि भएको छ। पूर्वाधार क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ३४ हजार ७५ किलोमिटर सडक र ३ हजार १८ पुल निर्माण भएको प्रतिवेदनमा उल्लेख छ।
यो अवधिसम्ममा अन्तर्राष्ट्रिय उडानतर्फ तीन वटा नेपाली वायुसेवा र २९ वटा विदेशी वायुसेवा गरी ३२ वटा वायुसेवा कम्पनीले विभिन्न गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन्। सबै मौसममा सञ्चालनमा रहने विमानस्थलको सङ्ख्या ३३ रहेको छ।


