काठमाडौँः गोरखाको बुढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको सकुशल उद्धार गरिएको छ। बाढीका कारण विभिन्न स्थानमा पुल, घर तथा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले आइतबार दिउँसो १ बजेसम्मको अवस्थाबारे जानकारी दिँदै हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको बताएका छन्।
उनले भने, “आज मिति २०८३ असोज २५ गते बिहान गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुमलिङबीच ठूलो पहिरो गई बुढीगण्डकी नदी थुनिएपछि लेदोसहितको ठूलो बाढी आएको हो। यसबाट भौतिक क्षति भएको छ। हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन। यो सुखद पक्ष हो। यद्यपि, भौतिक क्षति भने धेरै भएको छ। नेपाली सेनाका चारवटा हेलिकप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भएका छन्। हालसम्म ४७ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।”
उप्रेतीले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीपछि अवस्था केही सहज हुने अपेक्षा गरिएका बेला बुढीगण्डकीमा अर्को विपद् आएको बताए। बाढीबाट भौतिक संरचनामा ठूलो क्षति पुगे पनि हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नहुनु सकारात्मक पक्ष भएको उनको भनाइ छ।
प्राधिकरणका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न प्राथमिकता दिइएको थियो। इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जनाको प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउँदै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।
सल्लेरीस्थित टाइम्स ऊर्जा जलविद्युत् आयोजनाका १२ जना कर्मचारीलाई समेत सुरक्षित स्थानमा सारिएको उप्रेतीले जानकारी दिए। उक्त आयोजनाका भौतिक संरचनामा भने क्षति पुगेको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकप्टर परिचालन गरिएका छन्। उप्रेतीका अनुसार नेपाली सेनाका १२७, नेपाल प्रहरीका ८३ र सशस्त्र प्रहरी बल नेपालका १७७ गरी कुल ३८७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
उनले भने, “हालसम्म नेपाली सेनाबाट १२७ जना, नेपाल प्रहरीबाट ८३ जना र सशस्त्र प्रहरी बल नेपालबाट १७७ जना गरी कुल ३८७ जना सुरक्षाकर्मी खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा परिचालन भएका छन्।”
जल तथा मौसम विज्ञान विभागअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखामा बिहान ६ बजे सूचना प्राप्त भएपछि गोरखा र धादिङ हुँदै चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो।
प्राधिकरणका अनुसार गोरखा, तनहुँ र नवलपरासीलगायतका क्षेत्रमा समेत एसएमएसमार्फत सूचना सम्प्रेषण गरिएको थियो। सूचना प्राप्त भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको थियो।
त्यसैगरी, गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमलगायतका जिल्लामा तत्काल प्रतिकार्यमा खटिन २२१ जना उद्धारकर्मीलाई एसएमएसमार्फत अलर्ट पठाइएको उप्रेतीले बताए।
उनका अनुसार बिहान करिब ६स्३० बजेदेखि कार्यकारी प्रमुखको नेतृत्वमा कमान्ड पोस्टको बैठक निरन्तर जारी छ। प्रभावित क्षेत्रमा अनुगमन, सुरक्षा निकायको परिचालन तथा खोज र उद्धारका कार्य भइरहेका छन्।
बाढीका कारण गोरखाका विभिन्न स्थानमा पुल तथा घरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
चुमनुब्री गाउँपालिका–३, न्याकचेतस्थित न्याकचेतबाट सिर्दीबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको जानकारी प्राधिकरणले दिएको छ।
त्यस्तै, धार्चे गाउँपालिका–५ स्थित माछीखोलाबाट करौँजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। धार्चे गाउँपालिका–३, सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउस तथा आसपासका सातदेखि आठवटा घर बगाएको प्रारम्भिक सूचना प्राप्त भएको उप्रेतीले बताए।
आरुघाट गाउँपालिका–९, नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बाढीले बगाएको छ। उक्त पुल तीन भागमा बनेको बताइएको छ।
सोही क्षेत्रमा माछीखोलाको तल्लो बस्तीमा बाढी पसेको र २० देखि २२ घर जोखिममा रहेको जानकारी प्राप्त भएको छ। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ।
जलविद्युत् आयोजनामा पनि ठूलो क्षति
बुढीगण्डकी नदीमा आएको बाढीबाट विभिन्न क्षमताका जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ।
प्राधिकरणका अनुसार ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र तथा केही निर्माण उपकरण बाढीले बगाएको छ।
त्यसैगरी, २४।५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ भने बेलिब्रिज बगाएको छ। ३०।५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनाको बेलिब्रिजमा क्षति पुग्नुका साथै निर्माण सामग्री तथा उपकरण बगाएको छ।
१६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा समेत क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।
बाढीको प्रभाव धादिङ जिल्लामा समेत परेको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, विशालनगरका करिब १०० घरधुरीमा लेदो पसेको प्राधिकरणले जनाएको छ।
त्यस्तै, त्रिपुरासुन्दरी गाउँपालिकाको नदी तटीय क्षेत्रमा रहेको नरसिंह धाम मन्दिर र गुरुकुल शिक्षालय जोखिममा रहेको सूचना प्राप्त भएको उप्रेतीले बताए।
क्षतिको विवरण सङ्कलन तथा प्राविधिक अध्ययन जारी
बाढीको वास्तविक कारण पत्ता लगाउन तथा आरुघाटस्थित पुल बगाएपछि सो स्थानमा तत्काल बेलिब्रिज राख्न सकिने वा नसकिने विषयमा अध्ययन गर्न प्राधिकरण र सडक विभागको प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
उनले भने, “बाढी आउनुको वास्तविक कारण बुझ्न तथा आरुघाटस्थित पुल बाढीले बगाएपछि उक्त स्थानमा तत्काल बेलिब्रिज राख्न सकिने वा नसकिने विषयमा सम्भाव्यता अध्ययन गर्न प्राधिकरण र सडक विभागको प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।”
प्राधिकरणले बुढीगण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आइतबार साँझसम्म नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
नदीको बहाव घटेको देखिए पनि जोखिम कायम रहन सक्ने भएकाले जोखिमयुक्त पुल तथा सडकमा आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्नसमेत प्राधिकरणले अनुरोध गरेको छ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्नुका साथै प्रभावित क्षेत्रमा खोज, उद्धार तथा प्रतिकार्यका कार्यलाई निरन्तरता दिइरहेको प्राधिकरणले जनाएको छ।


