काठमाडौँः नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको अनलाइन परीक्षामा अनियमितता गरेको पाइएपछि ४१ जना परीक्षार्थीमाथि कारबाही गरेको छ। प्राधिकरणले उनीहरूको परीक्षा रद्द गर्नुका साथै तीन महिनासम्म अभिकर्ता परीक्षामा सहभागी हुन नपाउने निर्णय गरेको हो।
प्राधिकरणका अनुसार अनलाइन परीक्षामा सहभागी केही परीक्षार्थीले आवेदन प्रणालीमा प्रविष्ट गरेको फोटोमा रहेको व्यक्तिभन्दा फरक व्यक्ति उपस्थित गराएर परीक्षा दिएको पाइएको छ। परीक्षामा भएका यस्ता अनियमितता निरीक्षणमा खटिएको टोलीले पत्ता लगाएपछि सम्बन्धित परीक्षार्थीमाथि कारबाही गरिएको प्राधिकरणले जनाएको छ।
कारबाहीमा परेका परीक्षार्थीले तीन महिनासम्म बीमा अभिकर्ता परीक्षाका लागि आवेदन दिन र परीक्षामा सहभागी हुन पाउने छैनन्।
प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालनसम्बन्धी निर्देशिका, २०७९ को दफा ८ को उपदफा (५) बमोजिम परीक्षा रद्द गरेको हो। त्यसैगरी, सोही दफाको उपदफा (६) बमोजिम तीन महिनासम्म परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको प्राधिकरणले जनाएको छ।
बीमा अभिकर्ता बन्न चाहने व्यक्तिले निर्धारित प्रक्रिया पूरा गरी परीक्षा दिनुपर्ने हुन्छ। अनलाइन परीक्षा प्रणालीको दुरुपयोग गरी अर्को व्यक्तिमार्फत परीक्षा दिन खोज्नु नियमविपरीत हुने भएकाले प्राधिकरणले सम्बन्धित परीक्षार्थीमाथि कारबाही गरेको हो।
यस कारबाहीले अनलाइन परीक्षाको निष्पक्षता कायम गर्न र बीमा अभिकर्ता छनोट प्रक्रियामा हुने अनियमितता नियन्त्रण गर्न नियामक निकायले कडाइ गरेको संकेत गर्छ।


