गत वर्षको तुलनामा यस वर्ष दशैँमा काठमाडौं उपत्यका छाड्नेको संख्या कम, हालसम्म ५ लाख ७६ हजारभन्दा बढी बाहिरिए

काठमाडौं। गत वर्षको तुलनामा यस वर्ष दशैँ मनाउन काठमाडौं उपत्यका छाड्ने सर्वसाधारणको संख्या घटेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म ५ लाख ७६ हजार ५ सय ७८ जनाले काठमाडौं उपत्यका छाडेका छन्। गत वर्ष ६ लाख ६० हजार ८ सय ४६ जनाले काठमाडाैं उपत्यका छाेडेका थिए।

यस अवधिमा ७९ हजार ७ सय ७६ वटा सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दशैँका कारण यतिबेला काठमाडौं उपत्यकामा सवारीसाधनको आवागमन न्यून छ। गत वर्षको तथ्यांकसँग तुलना गर्दा यस वर्ष उपत्यका छाड्नेको संख्या केही कम रहेको उनले बताए।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष दशैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको संख्या केही कम रहेको देखिन्छ। घटस्थापनादेखि हालसम्म ५ लाख ७६ हजार ५ सय ७८ जना सर्वसाधारणले उपत्यका छाडेका छन्। यस अवधिमा ७९ हजार ७ सय ७६ वटा सवारीसाधन बाहिरिएका छन्।’

यसैबीच, ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ६२५ जनालाई कारबाही गरेको छ।

त्यस्तै, लागुऔषध सेवन (लापसे) गरी सवारीसाधन चलाउने २६ जनामाथि पनि कारबाही गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए।