काठमाडौँ- ओम ब्रुअरीद्वारा उत्पादित जोमसोम स्ट्रङ बियरले सीजी ब्रुअरीका बोतल अनाधिकृत प्रयोग गरेको पाइएको छ। ओमले सीजीका बोतल प्रयोग गरेको भन्दै सीजीले नियामक उद्योग विभागमा उजुरी दिएको थियो।
बिना मञ्जुरी अन्य कम्पनीको बोतल प्रयोग गरेपछि ओम ब्रुअरीलाई उद्योग विभागले उक्त कार्य तत्काल रोक्न निर्देशन दिएको छ। यसका साथै यसअघि नै त्यसरी सीजीका बोलतमा हालेर जोमसोम बियरलाई बजारमा पठाइएको भए ती सबै बियरहरू तत्काल फिर्ता लिन पनि उद्योगले ओमलाई निर्देशन गरेको छ।
‘ओम ब्रुअरीद्वारा सीजी ब्रुअरी प्राइभेट लिमिटेड इम्बोससहितको बोतल प्रयोग गरी जोमसोम स्ट्रंग बियर बजारमा पठाइएको देखिएको छ। यस्तो कार्य कानुन विपरीत देखिएकाले रोक्नका लागि निर्देशन जारी गरिएको छ,’ विभागका महानिर्देशक बाबुराम गौतमले भने।
ओम ब्रुअरीको उत्पादन जोमसोम स्ट्रंग बियरले सीजी ब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड अंकित नेपाल आइसको बियरको बोतलमा रहेको ‘सीजी ब्रुअरी(नेपाल)प्राइभेट लिमिटेड’नामलाई खुर्किएको थियो।
यसरी ग्राहकलाई झुक्याउने गरी बोतलमा जोमसोम स्ट्रंग बियरको स्टिकर लगाई बिक्रिवितरण गरेको र यस कार्यले सीजी ब्रुअरीको डिजाइन र ट्रेडमार्कको ख्यातिमा असर पुगेको भन्दै उद्योग विभागमा मुद्दा पुगेको थियो। उक्त कार्य पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) विपरीत देखिएको आदेशमा भनिएको छ।


